काठमाडौं । ३० वैशाखमा तोकिएको स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ताको काम आइतबारबाट शुरु हुने भएको छ । निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचनका लागि आइतवार र सोमबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयनको समय तोकेको हो । शनिवार आयोगले पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी गराएको हो । प्रत्येक निर्वाचन अधिकृतको कार्यालयमा तोकिएका सबै प्रक्रिया पूरा गरेर उम्मेदवारी दर्ता गर्न सकिने भएको हो ।
सोमवारसम्म दर्ता भएका उम्मेदवारीबारे १३ गते दाबी विरोध वा उजुरी दर्ता गर्ने, १४ र १५ गते जाँचबुझ गर्ने र १७ गते निर्वाचन चिन्ह प्रदान गर्ने समय तोकिएको छ । निर्वाचन आयोगले बहालवाला जनप्रतिनिधिलाई उम्मेदवार बन्न राजीनामा गर्नुपर्ने आचार संहिता जारी गरेपछि कतिपय स्थानीय तहमा जनप्रतिनिधिहरूले समेत धमाधम राजीनामा दिइरहेका छन् ।
स्थानीय तह निर्वाचनका लागि गत चैत २५ बाट निर्वाचन आचार संहिता लागु भएको छ। आचार संहिताले निर्वाचन सम्पन्न नहुँदासम्म उम्मेदवार, राजनीतिक दल र सरकारलाई निर्वाचन प्रचार प्रसारमा सरकारी स्रोत साधनको परिचालन गर्न बन्देज गरिएको छ। आचारसंहितामा उम्मेदवारहरूले निर्वाचन परिचालनका लागि गर्न सक्ने खर्चको सीमा पनि तोकिएको छ।
जसअनुसार सबैभन्दा धेरै महानगरपालिकाका प्रमुख वा उपप्रमुखका उम्मेदवारले ७ लाख ५० हजार रुपैयाँसम्म गर्न खर्च गर्न पाउँछन्। गाउँपालिकाका अध्यक्ष वा उपाध्यक्षका लागि त्यस्तो सीमा ३ लाख ५० हजार रुपैयाँ तोकिएको छ। निर्वाचन आयोगले राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह अङ्कित भेष्ट, टोपी वा झोला बोक्ने कार्यकर्ताहरूलाई समेत कारबाही हुने चेतावनी दिएको छ।