महानगर र उपमहानगरमा एमालेले टुंग्यायो उमेदवार, काठमाडौंमा केशव स्थापित

काठमाडौं । एमालले स्थानीय तहको निर्वाचनको प्रयोजनका लागि ५ महानगरपालिका र ९ उपमहानगरपालिकामा आफ्नो उमेदवारको टुंगो लगाएको छ । तालमेलको सम्भावनालाई ध्यानमा राखेर एमालेले एक महानगर र दुई उपमहानगरमा उम्मेदवार चयन बाँकी राखेको छ । यससँगै काठमाडौं उपत्यकाको मेयरको प्रतिस्पर्धामा चर्चित अनुहार केशव स्थापित आएका छन् ।

गठबन्धनसँग प्रतिस्पर्धा गर्ने मुख्य लक्ष्यका साथ एमालेले महानगर र उपमहानगरमा प्रमुख–उपप्रमुखका उम्मेदवार टुंगो लगाएको उपमहासचिव पृथ्वीसुब्बा गुरुङले उल्लेख गरे । उनका अनुसार तल्ला कमिटीले सिफारिस गरेका नामका आधारमा एमालेको केन्द्रीय सचिवालय बैठकले शनिबार ५ महानगर र ९ उपमहानगरमा उम्मेदवार तय गरेको हो ।

एमालेले वीरगन्ज महानगर र नेपालगन्ज उपमहानगरमा नवप्रवेशीलाई टिकट दिएको छ । एमालेले काठमाडौं महानगर प्रमुखमा केशव स्थापितलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । काठमाडौंको प्रमुखका लागि संघीय सांसद रामवीर मानन्धरसहित पाँच जना उम्मेदवारको नाम सिफारिस भएको थियो । स्थापित ०५४ सालको स्थानीय चुनावमा काठमाडौं महानगरपालिकाको प्रमुख बनेका थिए । उनी विवादमा बढी तानिने पात्र हुन् । स्वतन्त्र रूपमा काठमाडौं महानगर प्रमुखमा उम्मेदवारी घोषणा गरेकी सुनीता डंगोललाई एमालेले उपप्रमुखको उम्मेदवार बनाउने निर्णय गरेको छ ।


वीरगन्ज महानगरमा जसपाबाट प्रवेश गरेका हालका प्रमुख विजय सराबगीलाई एमालेले उम्मेदवार बनाएको छ । वीरगन्ज महानगरपालिकामा एमालेले उपप्रमुखको उम्मेदवार खाली राखेको छ । भरतपुरमा एमालेले विजय सुवेदीलाई प्रमुख पदको उम्मेदवार बनाउने निर्णय गरेको छ । भरतपुरमा उपप्रमुख उम्मेदवार भने तय गरिएको छैन । ललितपुरको प्रमुखमा हरिकृष्ण व्यञ्जनकार र उपप्रमुखमा मञ्जली शाक्य उम्मेदवार तोकिएका छन् । एमालेले पोखरा महानगरको प्रमुखमा दीपक पौडेल र उपप्रमुखमा मञ्जु गुरुङलाई उम्मेदवार बनाएको छ ।

नेपालगन्ज उपमहानगर प्रमुखमा पशुपतिदयाल मिश्र र उपप्रमुखमा शान्ति ढकाललाई उम्मेदवार बनाएको छ । मिश्र नवप्रवेशी हुन् । धनगढी उपमहानगरको प्रमुखमा रणबहादुर चन्द र उपप्रमुखमा कन्तकला राना थारूलाई उम्मेदवार बनाएको छ । तुलसीपुर उपमहानगर प्रमुखमा टीकाराम खड्का र उपप्रमुखमा स्यानी चौधरी तथा घोराही उपमहानगर प्रमुखमा नरुलाल चौधरी र उपप्रमुखमा हुमाकुमारी डीसीलाई उम्मेदवार बनाइएको छ ।

बुटवल उपमहानगर प्रमुखमा बाबुराम भट्टराई र उपप्रमुखमा सावित्रा अर्याल, हेटौंडा उपमहानगर प्रमुखमा अनन्त पौडेल र उपप्रमुखमा सुमित्रा काफ्ले, धरान उपमहानगर प्रमुखमा मञ्जु भण्डारी र उपप्रमुखमा पदम लिम्बू, इटहरी उपमहानगर प्रमुखमा यामकुमार सुब्बा र उपप्रमुखमा संगीता चौधरी तथा कलैया उपमहानगरको प्रमुखमा विनोद साहलाई एमालेले उम्मेदवार तोकिएको छ । कलैयाको उपप्रमुख खाली छ । सचिवालय बैठकले अन्य पार्टीसँग तालमेलका लागि भनेर जनकपुर, जितपुर–सिमरा र विराटनगरको प्रमुख र उपप्रमुख टुंगो लगाएको छैन ।