१० महिनापछि मेलम्चीको पानी जनताको धारामा

Photo : spotlightnepal

काठमाडौं । बाढीले क्षतिग्रस्त बनाएपछि दस महिनापछि जनताको घरघरमा मेलम्चीको पानी वितरण शुरु भएको छ । आइतबारदेखि मेलम्चीको पानी पुनः घर–घरमा वितरण सुरु भएको खानेपानी मन्त्रालयले जनाएको छ । २०७८ साल असार १ र १७ गतेको बाढीले मेलम्ची खानेपानी आयोजनालाई क्षतिग्रस्त तुल्याएपछि उपत्यकाका बासिन्दाले मेलम्चीको पानी उपभोग गर्न पाएका छैनन् । आयोजना गत वर्ष मात्र सञ्चालनमा आएको थियो ।

खानेपानीमन्त्री उमाकान्त चौधरीले आइतबार बिहान नयाँबानेश्वरस्थित पानी वितरण केन्द्रबाट पानीको निकास खुला गर्ने तयारी छ । त्यसपछि घर–घरमा पानी वितरण हुनेछ । नेपाल सरकारले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजना गत चैत मसान्तभित्र सञ्चालन गर्ने घोषणा गरेको थियो ।

खानेपानी मन्त्रालयले आयोजनाको सफाइ र मर्मतको काम सम्पन्न गरी गत २०७८ चैत २९ गते काठमाडौँतर्फ पानी पुनः पथान्तरण गरेको थियो । त्यसको एक हप्तापछि पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा आइपुगेको थियो । प्रशोधन केन्द्रमा भण्डारण गरी वितरण केन्द्रमार्फत उपत्यकाका घर–घरमा वितरण गर्न लागिएको हो ।