काठमाडौं । नेपालमा वसन्त ऋतुमा हुने हिमाल आरोहणमा अमेरिकी नागरिकको उच्च आकर्षण देखिएको छ । पर्यटन विभागका अनुसार आइतबारसम्म कुल ८७६ जना आरोहीले नेपालका दुई दर्जन हिमाल आरोहण गर्न अनुमति लिएका छन् । जसमा सबैभन्दा धेरै अमेरिका र युरोपबाट आएका छन् । तथ्यांकअनुसार कुल १ सय ८ समूहका ८७६ जना आरोहीले अनुमति लिएका हुन् । जसमा सगरमाथाका लागि ३७ समूहका ३०२ जनाले अनुमति लिएका छन् । अनुमति लिनेमा सबैभन्दा धेरै अमेरिकी नागरिक छन् । अमेरिकाबाट २७ महिलासहित १३२ जना आरोहीले विभिन्न हिमाल चढ्न अनुमति लिएको विभागले जनाएको छ ।
विभागका अनुसार दोस्रो नम्बरमा बेलायती नागरिक रहेका छन् । बेलायतबाट वसन्त ऋतुमा हिमाल चढ्न १४ महिलासहित १०५ जना आरोहीले अनुमति लिएका छन् । तेस्रो नम्बरमा नेपाली आरोही छन् । नेपालबाट ६२ जना आरोहीले विभिन्न हिमालका लागि अनुमति लिएको विभागको तथ्यांकमा देखिएको छ । भारतबाट ५८ आरोही नेपाल आएको देखिएको छ ।
फ्रान्सबाट ५५, क्यानडाबाट ३४, अष्ट्रेलियाबाट २९, रुसबाट २८ जना र चीनबाट २२ जनाले आरोहण अनुमति लिएको विभागले जनाएको छ । विभागका तथ्यांक अनुसार आइतबारसम्म ७३ मुलुकका आरोहीले आरोहण अनुमति लिइसकेका छन् । जसमा युक्रेनबाट एक जनाको अनुमति रहेको छ । युरोपेली मुलुकमध्ये स्पेनबाट २५, नेदरल्याण्ड्सबाट १७, चेक रिपब्लिकबाट ११ जना आएका छन् । पर्यटन विभागको तथ्यांक अनुसार आतइबारसम्म कुल २५ वटा हिमालका लागि आरोहण अनुमति जारी भएको छ ।
यसमा सबैभन्दा धेरै सगरमाथाका लागि आएका छन् । सगरमाथा चढ्न ३७ समूहका ३०२ जनाले अनुमति लिएका हुन् । दोस्रो स्थानमा ल्होत्से हिमाल आरोहणमा बढी अनुमति जारी भएको छ । यस हिमालका लागि २२ महिलासहित १०३ जनाले अनुमति लिएका छन् । अमादब्लम हिमालमा १८ महिलासहित ९७ जनाले अनुमति लिएको विभागले जनाएको छ ।