काठमाडौं । ३० वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनका लागि सोमबार उमेदवारी दर्ताको समय सकिएको छ । आइतबार र सोमबार गरि दुई दिन उमेदवारी दर्ताको समय तोकिएको थियो । निर्वाचन आयोगले अपडेट गरेको पछिल्लो विवरण अनुसार स्थानीय तहमा ७१ हजार, २३७ जना चुनावी मैदानमा उत्रिएका छन् । कुल ३५ हजार, २२१ जना पदाधिकारीका लागि वैशाख ३० मा निर्वाचन हुँदैछ । नयाँ संविधान जारी भएपछि दोस्रो पटक स्थानीय तहको निर्वाचन हुन लागेको हो ।
सात वटै प्रदेशका ७५३ स्थानीय तहका प्रमुख\अध्यक्ष, उपप्रमुख\उपाध्यक्ष, वडा अध्यक्ष र सदस्य गरी कुल ३५ हजार, २२१ जना पदाधिकारी चयन हुनेछन् । आयोगका अनुसार देशभरको उम्मेदवारी अद्यावधिक गर्ने क्रम अबेर रातीसम्म चल्नेछ । सोहीकारण उमेदवार संख्या अझ बढ्न सक्नेछ । छवटा महानगर, ११ वटा उपमहानगर र २७६ वटा नगर गरी २९३ वटा नगरपालिका छन्।
साँझसम्मको विवरणअनुसार ती नगरको प्रमुखमा २११८ जना उपप्रमुखमा १३१८ जना प्रतिस्पर्धामा उत्रिएका छन्। गाउँपालिकाका ४६० वटा छन्। तिनको अध्यक्षमा २२२१ र उपाध्यक्ष १५४४ जना चुनावी मैदानमा होमिएका छन्। वडा अध्यक्षमा १७ हजार ७०१, महिला सदस्यमा ११ हजार ६५५, दलित महिला सदस्यमा १० हजार ३७१ र सदस्यमा २४ हजार ३०९ जनाको उम्मेदवारी परेको छ।