काठमाडौं । अब व्यवसायी र बैंकर एउटै व्यक्ति बन्न नपाउने प्रावधान ल्याउन लागिएको छ । सरकारले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) संसदमा दर्ता गरेको छ ।
यो विधेयक पारित भए एउटै व्यक्ति अब बैंकर र व्यवसायी एउटै भूमिकामा रहन पाउने छैन ।
विधेयकले बैंकर र व्यवसायी छुट्ट्याउने मात्र छैन, सञ्चालक र प्रमुख कार्यकारीको उमेर, सञ्चालकको योग्यता, सुशासनजस्ता विषयमा पनि स्पष्ट प्रावधान समेटिएको छ ।
यो विधेयक पारित भए वित्तीय सुशासनमा निकै ठूलो उपलब्धी हुने बताइएको छ । किनकी एउटै व्यक्तिको बैंक र उसैको व्यवसायसमेत हुँदा ठूलो कर्जा स्वयम आफ्नै उद्योगमा लैजाने जोखिम धेरै हुने गरेको छ ।
एउटै व्यक्तिले बैंक र व्यवसाय दुवै सञ्चालन गर्दा स्वार्थ समेत बाँझिने गर्छ । बैंकिङ क्षेत्रमा बैंकर र व्यवसायी छुट्टयाउन यस अघि नै पहल भएपनि विभिन्न स्वार्थ समूहको चलखेलका कारण सफल हुन सकेन ।
संसदले नै यसअघि बाफियामा राखेको व्यवस्था झिकेको थियो । सांसदहरु स्वयमः व्यवसायीको एजेन्टका रुपमा प्रस्तुत हुने समस्या नेपालमा रहेको छ ।
पहिलो पटक बाफियामा यो विषय नपरेपछि पहिलो संशोधनमा फेरी सोही विषय समेटिएको हो । भारतलगायत धेरै मुलुकमा एउटै व्यक्तिले बैंक र व्यवसाय संचालन गर्न नपाउने प्रावधान रहेको छ ।
अब संचालकको समेत योग्यता तोकिदैछ । योग्यता अनुसार अब स्नातकोत्तर अनिवार्य गरिएको छ भने यस अघि कुनै न कुनै रुपमा वित्तीय संघसंस्थामा आवद्ध भई काम गरेको अनुभव भएको हुनुपर्छ ।
विगतमा आफैं बैंक चलाउने र आफ्नै व्यवसायका लागि त्यसबाटै ऋण लिने गलत प्रवृत्तिका कारण धेरै बैंकहरु डुबेका थिए ।