मतपत्र जिल्ला-जिल्लामा पठाउन थालियो

काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको प्रयोजनका लागि मतपत्र जिल्लामा पठाउन शुरु भएको छ । निर्वाचन आयोगले कर्णाली र सुदूरपश्चिम प्रदेशमा मतपत्र पठाएको छ । आयोगमा सहसचिव तुलसीबहादुर श्रेष्ठका अनुसार मङ्गलबार कर्णाली र सुदूरपश्चिम प्रदेशका १३ जिल्लामा मतपत्र ढुवानी गरिएको हो । उनका अनुसार मतपत्र ढुवानीका लागि सार्वजनिक सवारीसाधन भाडामा लिइएको छ । मतपत्र ढुवानी कार्यतालिका अनुसार अब दैनिक रुपमा मतपत्र ढुवानी हुनेछ । कर्णाली प्रदेशमा ९०७ मतदान स्थल र १३ सय ८५ मतदान केन्द्र निर्धारण गरिएको छ ।

यस भेगमा १० लाख एक हजार २८२ मतदाता छन् । जसमध्ये पाँच लाख छ हजार १८० पुरुष, चार लाख ९५ हजार ९९ महिला र तीन जना अन्य मतदाता छन् । आयोगले सुदूरपश्चिम प्रदेशमा ११ सय ३५ मतदान स्थल र २१ सय तीन मतदान केन्द्र तोकेको छ । यहाँ १६ लाख ३२ हजार १५० मतदाता छन् । जसमध्ये आठ लाख ६६२ पुरुष, आठ लाख ३१ हजार ४७० महिला र १८ जना अन्य मतदाता छन् ।

वैशाख २९ गतेसम्म १८ वर्ष पूरा भएका मतदाताको सङ्ख्या एक करोड ७७ लाख ३३ हजार ७२३ छ । जसमध्ये ८७ लाख ४१ हजार ५३० महिला, ८९ लाख ९२ हजार १० पुरुष र १८३ अन्य गरी देशभर एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता कायम भएका छन् ।