काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टीमका सिनियर सदस्य रोहित चन्दमाथि अन्याय गरेसँगै नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेमजोङसहित एक दर्जन खेलाडीले प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले खेलाडीप्रति असन्तुष्टी देखाउँदै असन्तुष्टि जनाएका छन्। केही खेलाडीले होटेल र क्याम्प नै छाडेका छन् । किरण चेमजोङ भने अहिले माल्दिभ्समा छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो असन्तुष्टि जनाउँदै खेलाडीको पक्षमा रहेको बताएका छन् । ‘राष्ट्रिय टोलीको प्रशिक्षणमा खेलाडीप्रति प्रशिक्षकबाट गरिएको व्यवहारप्रति मेरो असन्तुष्टि छ। राष्ट्रिय टोलीको क्याम्पमा जायज विषय उठाउँदा खेलाडीलाई क्याम्प नै छोड्न लगाउनु पक्कै सहि होइन। टोलीको कप्तान र एक सदस्यको हिसाबले म सधैं खेलाडीको पक्षमा छु,’ उनले लेखेका छन्। राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय टिमको क्याम्पबाट ९ जना खेलाडी बाहिरिएका छन्।
सिनियर खेलाडी रोहित चन्दसहित ९ खेलाडीले प्रशिक्षण क्याम्प छाडेका हुन्। सुरूमा रोहितले प्रशिक्षकको कार्यशैलीप्रति असन्तुष्टि जनाएका थिए। उनले खेलाडीको सुविधाको विषयमा कुरा गर्दा प्रशिक्षकले उनलाई घर जान भनेका थिए । उनलाई निकालेका कारण अन्य खेलाडी भड्किएका छन् ।
एएफसी एसियन कप २०२३ को छनोटका लागि अहिले नेपाली टिमलाई बन्द प्रशिक्षणमा राखिएको छ। अघिल्लो सातादेखि बोलाइएको प्रशिक्षणमा २५ खेलाडीलाई बोलाइएको थियो। मंगलबार साँझको टिम मिटिङपछि विशाल राई, अनन्त तामाङ, विमल घर्तिमगर, अन्जन विष्टसहित खेलाडीले होटल छाडेका छन् । बुधबारको अभ्यासमा रोहितसहित ९ खेलाडी अनुपस्थित भए ।
एसियन कप छनोटमा नेपाल कठिन समूहमा छ। समूह ‘ए’ मा नेपालसहित जोर्डन, कुवेत र इन्डोनेसिया छन्। समूहको शीर्ष टिम एसियन कपमा छनोट हुनेछ भने दोस्रो हुने टिमको पनि सम्भावना हुनेछ। नेपाल सम्मिलित समूहका खेल कुवेतमा हुनेछन्। खेलहरू जेठ २५ मा सुरु भएर जेठ ३१ मा सकिनेछन्। नेपालले आफ्नो पहिलो खेलमा जोर्डनसँग २५ जेठमा कुवेत सिटीमा प्रतिस्पर्धा गर्नेछ। यस्तै नेपालले २८ जेठमा कुवेत र ३१ जेठमा इन्डोनेसियासँग प्रतिस्पर्धा गर्नेछ।