काठमाडौं । राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण क्याप छाडेका खेलाडीले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको व्यवहारका कारण क्याम्प छाडेको बताएका छन् । टोलीका सिनियर खेलाडी रोहित चन्द लगायतले बिहीबार पत्रकार सम्मेलनगरी प्रशिक्षकसँग जायज माग गर्दा क्याम्पबाट निकालेको आरोप समेत लगाए । पत्रकार सम्मेलनमा रोहिच चन्दले खेलाडीको सामान्य गाँस बासको माग गर्दा प्रशिक्षकले टिमबाट जा भनेको र त्यसपछि अन्य खेलाडीले पनि क्याम्प छाड्ने निर्णय लिएको बताए ।
मंगलबार राति चन्द सहित नौ जना खेलाडी बन्द प्रशिक्षणका लागि राखिएको दशरथ रंगशाला नजिकको होटल छाडेर बाहिरिएका थिए । आफुहरुले क्लब फुटबल भन्दा राष्ट्रिय टोलीलाई ध्यान दिएपनि प्रशिक्षकबाट क्याम्प नै छाडेर जा भन्नु अन्यायपूर्ण ब्यवहार भएको खेलाडीको भनाई छ । प्रशिक्षण क्याम्प छाडेका खेलाडीको पत्रकार सम्मेलनमा फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामा र उपाध्यक्ष विकेश कुथु समेत सहभागी थिए ।
खेलाडीहरुले यस विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारीसँग पनि छलफल गरेका थिए । छलफलमा बिद्रोह गरेका खेलाडीले प्रशिक्षक अल्मुताइरीको राजीनामाको माग समेत गरेका छन् । नेपाली फुटबल टोली अहिले कुवेतमा जुन ८ देखि १४ तारिखसम्म आयोजना हुने एएफसी एसिया कप छनोट तेस्रो चरणको तयारीका लागि बन्द प्रशिक्षणमा रहेको छ । एसिया कप छनोटको तयारीका लागि नेपाली टोलीले जेठ ११ र १५ गते कतारको दोहामा अफगानिस्तानसँग मैत्री पूर्ण फुटबल समेत खेल्न लागेको छ । प्रशिक्षक अल्मुताइरीले २५ जना खेलाडी छनोट गरी बन्द प्रशिक्षण र तयारी सुरु गरेका थिए ।