सत्ता गठबन्धनका बागी उमेदवारले आजसम्म उमेदवारी फिर्ता नलिए कारवाही हुने

काठमाडौं । सत्तागठबन्धन भित्र बागी उमेदवार बनेका उमेदवारले उमेदवारी फिर्ता नलिए कारवाही हुने भएको छ । सत्ता गठबन्धनको बैठकले विभिन्न स्थानीय तहमा आधिकारिक उम्मेदवारविरूद्ध उठेका बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन आह्वान गरेको छ । बिहीबार बालुवाटारमा बसेको सत्तागठबन्धनको चुनावी तयारी तथा अनुगमन समिति बैठकले शुक्रबार अपरान्ह ५ बजेभित्र बागी उम्मेदवारलाई आफ्नो उम्मेदवारी फिर्ता लिन आग्रह गरेको हो।

मुख्य निर्वाचन अधिकृत कार्यालय र निर्वाचन अधिकृत कार्यालय पुगेर निर्वाचन आयोगले दिएको समयभित्रै उम्मेदवारी फिर्ता नलिने बागी उम्मेदवारलाई कारबाही गर्ने सत्तागठबन्धनको तयारी छ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल संयोजक रहेको सत्तागठबन्धनको चुनावी तयारी तथा अनुगमन समिति बैठकले बागी उम्मेदवारलाई कारबाहीको चेतावनी दिएको हो ।

कहाँ-कहाँ बागी उम्मेदवारी परेको छ र आज अपरान्ह ५ बजेभित्र फिर्ता भए वा भएनन् भन्ने बुझेर कारबाहीका लागि शीर्ष नेताहरू तथा सम्बन्धित पार्टीलाई सिफारिस गर्ने समितिको तयारी छ। चितवनलगायत विभिन्न जिल्लामा गठबन्धनका उम्मेदवारविरूद्ध बागी उम्मेदवारी परेका छन्। सत्तागठबन्धनका शीर्ष नेताहरूले पनि बागी उम्मेदवारी फिर्ता लिन आग्रह गरिरहेका छन्।