काठमाडौं । रियल म्याड्रिड सिजनको स्पेनिस ला लिगा च्याम्पियन बन्न सफल भएको छ । गतराती स्पान्योलमाथि ४–० को जित निकालेको रियल चार खेल अगाडी नै च्याम्पियन बन्न सफल भयो । स्पान्योलमाथि घरेलु मैदानमा सहज जित निकाल्ने क्रममा रोड्रिगोले दुई तथा मार्को एसेन्सियो र करिम बेन्जेमाले एकएक गोल गरेका छन् । खेलको ३३ औं मिनेटमा रोड्रिगोले गोल गर्दै घरेलु टोलीलाई सुरूआती अग्रता दिलाए। ४३ औं मिनेटमा रोड्रिगोले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै पहिलो हाफमा २-० ले अघि बढाए। ५५ औं मिनेटमा मार्को एसेन्सियोले गोल गर्दै रियललाई ३–० ले अघि बढाए।
८१ औं मिनेटमा परिवर्तित फरवार्ड करिम बेन्जेमाले गोल गर्दै रियलको फराकिलो जित पक्का गरे। ६०औं मिनेटमा मारियानो डियाजको स्थानमा मैदान छिरेका बेन्जेमाले भिनिसिय जुनियरको पासमा गोल गरेका थिए। समग्रमा ३५ औं ला लिगा उपाधि जितेको रियलले पछिल्लोपटक २०१९–२० को सिजनमा च्याम्पियन बनेको थियो। यो सिजन उपाधि रक्षा गर्ने क्रममा रियलले ३४ खेलबाट २५ मा जित, ६ बराबरी र ३ हारसहित ८१ अंक जोड्यो। रियल दोस्रो स्थानमा रहेको सेभियालाई १७ अंकले तथा एक खेल कम खेलेको बार्सिलोनालाई १८ अंकले पछि पारेको छ।