निर्वाचन आयोगका भिडियो अपलोड गरि २० लाख दर्शक कटाएमा नगद पुरस्कार पाइने

काठमाडौं । निर्वाचन सम्बन्धी सन्देशमूलक भिडियो प्रचार गरेमा निर्वाचन आयोगले पुरस्कृत गर्ने निर्णय गरेको छ । चुनावी सन्देशमूलक भिडियो टिकटक बनाएर वा पहिलेकै स्वरुपमा वैशाख २९ गतेभित्र फेसबुक, युट्युब, टिकटकमा पोस्ट गरी पचास लाख, तीस लाख र बीस लाख दर्शक पुर्याउने व्यक्ति वा संस्थालाई आयोगले नगद र प्रशंसा पत्रले पुरस्कृत गर्ने आयोगले सूचना मार्फत जानकारी गराएको छ ।

पचास लाख वा त्योभन्दा माथि दर्शक पुर्याउनेलाई पचास हजार, तीस लाख वा त्योभन्दा माथि दर्शक पुर्याउनेलाई तीस हजार र बीस लाख वा त्योभन्दा माथि दर्शक पुर्याउनेलाई बीस हजार रुपैयाँ प्रदान गर्ने आयोगले निकालेको सूचनामा उल्लेख छ । पालिका चुनावका लागि आयोगले तयार पारेका सन्देशमूलक भिडियो आयोगको ट्विटर, युट्युब, फेसबुक र भाइबर जस्ता सामाजिक सञ्जालमा राखिएको छ ।