एन्फालाई अल्मुताइरीको पत्र-‘बन्द प्रशिक्षण छाडेका १० खेलाडीलाई कारबाही नगर्नू, म माफी दिन्छु’

काठमाडौं । राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफूमाथि आरोप लगाउने १० खेलाडीलाई माफी दिएको बताएका छन् ।

साथै उनले अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरलाई पत्र लेखेर ती खेलाडीहरुलाई कारबाही नगर्न समेत आग्रह गरेका छन् ।

प्रशिक्षक अलमुताईरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै एएफसी एसियन कप छनोटको लागि बन्द प्रशिक्षणमा रहेका १० खेलाडीले प्रशिक्षण छाडेपछि उनी विवादमा तानिएका थिए ।

उनीहरुका अनुसार होस्टलको सेवा सुविधा सुधार गर्न आग्रह गर्दा प्रशिक्षक अल्मुताइरीले रोहित चन्दलाई घर पठाएका थिए । रोहितले आफूहरुकै आग्रहमा धारणा राखेको भन्दा आफूहरुलाई पनि बन्द प्रशिक्षणबाट निकालेको उनीहरुको दाबी छ । तर अल्मुताइरीले एन्फालाई लेखेको पत्रमा यसबारे केही बोलेका छैनन् ।

अलमुताईरीले आफूविरुद्ध खेलाडीहरुले दिएको अभिव्यक्ति भने अपमानजनक भएको उनले उल्लेख गरेका छन् । एन्फा महासचिवलाई लेखेको पत्रमा उनले भनेका छन्, ‘खेलाडीहरुले मेरोविरुद्ध गरेको अपमानजनक टिप्पणीका लागि माफी दिन्छु । र, विनम्रतापूर्वक अनुरोध गर्छु कि यी खेलाडीहरुलाई उनीहरुको गल्तीका लागि दण्डित नगरियोस् ।’

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले खेलाडीहरुले आफ्नो अनुमति विना बन्द प्रशिक्षण छाडेकाले उनीहरुलाई एसिया कप छनोटको टिमबाट हटाएको बताएका छन् ।

खेलाडीहरु विशाल श्रेष्ठ, अनन्त तामाङ, अन्जन विष्ट, विमल घर्तीमगर, दिनेश राजवंशी, सुमन लामा, रोहित चन्द, सुजल श्रेष्ठ, तेज तामाङ, विशाल राईले प्रशिक्षकको व्यवहारको विरोध गर्दै बन्द प्रशिक्षण छाडेका थिए ।

१० खेलाडीले क्याम्प छाडेपछि अलमुताईरीले थप १७ खेलाडीलाई प्रशिक्षणमा डाकेर तयारी गरिरहेका छन् ।