काठमाडौं । इन्धनको खरिद लागत मूल्य वैशाख तेस्रो सातामा महँगो बनेको छ । नेपाल आयल निगमका अनुसार भारतीय आयल निगम (आईओसी)बाट ३ वैशाखमा प्राप्त मूल्य सूचीको तुलनामा १८ वैशाखमा प्राप्त नयाँ मूल्य सूचीले निगमलाई थप एक अर्ब ४५ करोड रुपैयाँ नोक्सान हुने भएको छ । १ वैशाखको मूल्यले ३ अर्ब ७४ करोड रुपैयाँ घाटा हुने स्थिति थियो । आइतबारको मूल्य अनुसार भने १५ दिनमा निगमलाई ५ अर्ब १९ करोड घाटा हुने छ ।
आइतबार प्राप्त नयाँ मूल्य सूचीअनुसार पेट्रोल लिटरमा ५ रुपैयाँ र डिजेल लिटरमा १० रुपैयाँले महँगो भएको छ । मट्टितेल लिटरमा ४ रुपैयाँले महँगो भएको छ । खाना पकाउने ग्याँस सिलिण्डरमा ९९ रुपैयाँले थप महँगो हुने छ । नयाँ मूल्यअनुसार पेट्रोलको लागत १८३ रुपैयाँ २ पैसा, डिजेलको १८३ रुपैयाँ १३ पैसा मट्टितेलको १४० रुपैयाँ १९ पैसा र खाना पकाउने ग्याँसको मूल्य २६ सय ५० रुपैयाँ १८ पैसा रहेको छ ।
नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर २३ रुपैयाँ २ पैसा, डिजेलमा ४० रुपैयाँ १३ पैसा, मटितेलमा २ रुपैयाँ ८१ पैसा र खाना पकाउने ग्याँसमा एक हजार ५० रुपैयाँ १८ पैसा नोक्सान रहेको निगमले जनाएको छ । निगमलाई हवाई इन्धन आन्तरिकतर्फ १२ रुपैयाँ ६४ पैसा र बाह्यतर्फ ६४ रुपैयाँ ६९ पैसा नाफा रहेको छ । निगमले उपभोक्ता मूल्य भने चलाएको छैन ।