निर्वाचनको गरिमामा आँच आउने विषय सामाजिक संजालमा राखे कारवाही हुने

काठमाडौं । निर्वाचन आयोगले निर्वाचनको स्वच्छता, स्वतन्त्रता र गरिमामा आँच पुर्‍याउने प्रकृतिका कुनै पनि सामग्री सामाजिक सञ्जालमा राखे कारवाही हुने चेतावनी दिएको छ । आयोगले आइतबार विशेष पत्रकार सम्मेलन गर्दै यस्तो चेतावनी दिएको हो । आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलका अनुसार आयोगको निर्देशन परिपालना नभए कानूनअनुसार कारवाही गरिने छ ।

स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा उमेदवारको मनोनयन गराएका उमेदवार र राजनीतिक दलप्रति लक्षित गरी मिथ्या सूचना, दुष्प्रचार, द्वेषपूर्ण अभिव्यक्ति सामाजिक सञ्जालमा पोष्ट गर्न पाइने छैन । गलत, भ्रामक, चरित्रहत्या हुने व्यक्तिगत लाञ्छना लगाउने, मानहानी हुने वा निर्वाचनलाई प्रत्यक्ष असर पर्ने कुसामग्री सामाजिक सञ्जालमा राखेमा आयोगले कारवाही गर्ने भएको छ ।

निर्वाचन आयोगबाट स्वीकृत निर्वाचन व्यवस्थापनमा सामाजिक सञ्जाल उपयोगसम्बन्धी नीति, २०७७ को निर्वाचनसम्बन्धी सूचना भरपर्दो, मितव्ययी, गुणस्तरीय र पहुँचयोग्य बनाई सामाजिक सञ्जालको उपयोग र नियमनलाई प्रभावकारी बनाउने उद्देश्यको कार्यान्वयन गर्न आयोगले जनाएको छ । निर्वाचनसम्बन्धी रिपोर्टिङमा भएका सामान्य गल्तीबाहेक आफुलाई लाभ र अरू कसैलाई हानी पुर्‍याउने र आम मानिसलाई छकाउने बदनियतसाथ जानीजानी गलत वा भ्रामक सूचना सम्प्रेषण गर्ने कार्य दुष्प्रचार भएको आयोगको भनाई छ ।