स्थानीय तहमा देशभर ३५३ जना निर्विरोध निर्वाचित

काठमाडौं । स्थानीय तह निर्वाचनमा मनोनयनपत्र दर्ता गराएकामध्ये विभिन्न पदमा ३५३ निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन भने वैशाख ३० मा तोकिएको छ । आयोगको कार्यतालिकाअनुसार वैशाख ११ र १२ गते मनोनयनपत्र दर्ताको समय दिइएकामा जाँचबुझ र फिर्ता लिने समय सकिएपछि यही १७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको थियो । आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार विभिन्न पदमा ३५३ निर्विरोध निर्वाचित भएका हुन् ।

निर्विरोध भएकालाई मतगणना सम्पन्न भएपछि निर्वाचन अधिकृतको कार्यालयले प्रमाणपत्र दिनेछ । निर्वाचनमा ७५३ पालिकामा गरी कूल ३५ हजार २२१ पदका लागि निर्वाचन हुँदैछ । निर्वाचनका लागि हालसम्म ६४ जिल्लाका लागि एक करोड ३२ लाख २१ हजार मतपत्र ढुवानी गरिएको छ । काठमाडौँबाट एकै दिनमा ढुवानी गर्न सकिने मधेस प्रदेश र बागमती प्रदेशका केही जिल्लाहरुमा ढुवानी गर्न बाँकी रहेको छ ।

मतपत्र ढुवानी भइसकेका जिल्लामध्ये मनोनयनपत्र दर्ता भएका उम्मेदवारको अन्तिम नामावलीसँग रुजु गर्दा निर्वाचन चिह्न थप हुन गई विभिन्न ३२ पालिकामध्ये १६ स्थानीय तहका लागि १० लाख ८० हजार मतपत्र छपाइ गर्नुपर्ने भएकामा हालसम्म नौ वटा पालिकाका लागिसात लाख ११ हजार मतपत्र छपाइ सम्पन्न भएको छ । बाँकीमध्ये भक्तपुर जिल्लाको मतपत्र छपाइ पनि सम्पन्न भएको छ भने महानगरपालिकाका लागि मतपत्र छपाइ भई सबै मतपत्र वैशाख २३ गतेभित्र ढुवानी गरिसक्ने तयारी रहेको छ ।