बुद्ध पूर्णिमामा भारतीय प्रधानमन्त्री मोदी नेपाल आउने

RSS

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध पूर्णिमाका दिन नेपाल भ्रमणमा आउने भएका छन् । उनी १६ मे (२ जेठ)का लागि नेपाल भ्रमणमा आउन लागेको भारतीय पत्रिका द हिन्दूमा मंगलबार समाचार छापिएको छ । समाचार अनुसार सन् २०१९ मा पुनः प्रधानमन्त्री निर्वाचित भएपछि मोदीको यो पहिलो नेपाल भ्रमण हुनेछ ।
मोदी बुद्ध पूर्णिमाको अवसरमा लुम्बिनीमा हुने समारोहमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी मोदी सहभागी हुने सम्भावना छ ।
एक महिना अघि मात्रै देउवाले भारतको औपचारिक भ्रमण गरेका थिए । त्यसैले मोदीको नेपाल भ्रमणको क्रममा राजनीतिक कुराकानी भने नहुने बताइएको छ ।
नेपाल र भारतीय अधिकारीहरुले मोदीको भ्रमणको तयारी गरिरहेका छन् ।

देउवा र मोदी मायादेवी मन्दिरमा दीप प्रज्ज्वलन समारोहमा सहभागी हुनेछन् । उनी दिल्लीबाट कुशीनगर अन्तर्राष्ट्रिय विमानस्थलमा आउने र त्यहाँबाट हेलिकप्टर चढेर लुम्बिनी आउने भएका छन् । प्रधानमन्त्री भएपछि मोदीले सन् २०१४ र २०१८ मा दुई पटक नेपालको भ्रमण गरेका थिए । २०१८ मा जनकपुर र मुक्तिनाथ भ्रमण गरेका थिए । तर समय अभावका कारण लुम्बिनीको भ्रमण गर्ने कार्यक्रम स्थगित भएको थियो ।