काठमाडौं । चितवनको भरतपुरमा सत्तागठबन्धनले आगामी बिहीबार संयुक्त चुनावी सभा आयोजना गरेको छ । चुनावी सभामा गठबन्धनका सबै शीर्ष नेताले सम्बोधन गर्ने भएका छन् । भरतपुरमा कांग्रेस, माओवादी केन्द्र र नेकपा समाजवादीसहितको गठबन्धनबाट माओवादी केन्द्रकी रेणु दाहाल निर्वाचनमा होमिएकी छिन् । उनको मुख्य टक्कर एमाले उम्मेदवारसँग भएपनि कांग्रेसका बागी उम्मेदवारले उम्मेदवारी फिर्ता लिन नमानेपछि गठबन्धन दवावमा आएको छ । यहाँ नेपाली कांग्रेसबाट उपमेयरमा चित्रसेन अधिकारी उम्मेदवार बनेका छन् ।
चुनावी सभालाई प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलगायतले सम्बोधन गर्ने भएका छन् । कांग्रेस नेतासमेत रहेका सत्तागठबन्धनका चुनावी तयारी तथा अनुगमन समिति संयोजक रामचन्द्र पौडेल, महामन्त्री गगन थापा र नेता शेखर कोइरालालाई पनि चुनावी सभामा सम्बोधन गर्ने बताइएको छ । उनीहरुले गठबन्धनका उम्मेदवारलाई जिताउन आह्वान गर्ने भएका छन् ।