नेपाल र जिम्बाब्वे-ए बीचको टी-२० सिरिज बराबरी

काठमाडौं । नेपालले जिम्बावे-ए माथि ८ विकेटको जित निकालेसँगै नेपाल र जिम्बाब्वे-ए बीचको टी-२० सिरिज बराबरीमा टुंगिएको छ । तीन खेलको सिरिजमा दुबै टीमले एक÷एक खेल जिते । एक खेलमा भने वर्षा बाधक बन्दा नतिजा आएन । बुधबार १ सय ३७ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले १५ ओभर ५ बलमा मात्र २ विकेट गुमाउँदै पुरा गर्न सफल रह्यो ।

नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ८७ रन बनाए। ३४ बलमा ८ चौकासहित अर्धसतक पुरा गरेका उनले ५४ बलमा १३ चौका र १ छक्का प्रहार गर्दै नटआउट रहे। पहिलो विकेटका लागि आसिफ र कुशल भुर्तेलले ९.३ ओभरमा ८८ रनको साझेदारी गरे ।

कुशल भुर्तेल २६ बलमा २ चौका र २ छक्कासहित ३४ रनमा बोल्ड भए। त्यसपछि क्रिजमा आएका बसिर अहमदले १५ बलमा १० रन बनाए। त्यसअघि टस हारेर टियु मैदानमा ब्याटिङ गरेको जिम्बावे ए ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३६ रन बनायो।