काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएको छ । निर्वाचनमा जाने वा बाहिर बसेर संघर्ष गर्ने भन्ने विवादका बीच अन्ततः पार्टी नै विभाजन भएको हो । १४ वैशाखमा विप्लवले दुई नेताहरु धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश वलीलाई कारवाही गरि निकालेका थिए । बदलामा विद्रोही समूहले बुधबार विप्लव नै पार्टीबाटै निकालेको घोषणा गरेका छन् । चितवनको पर्सामा आयोजित राष्ट्रिय भेलाबाट विप्लवलाई पार्टीबाटै र खड्गबहादुर विश्वकर्मालाई प्रवक्ताको जिम्मेवारीबाट हटाइएको हो ।
विद्रोही समूहले बास्तोलालाई पार्टीको संयोजक तोकेसँगै यो पार्टी विभाजन भएको हो । पार्टी निर्वाचन आयोगमा दर्ता भने छैन । चैत दोस्रो साता चलेको केन्द्रीय समितिको बैठकमा विप्लवले स्थानीय चुनावमा जानुपर्ने प्रस्ताव राखेका थिए । उनको प्रस्ताव अल्पमतमा परेसँगै पार्टी विभाजनको अवस्थामा पुगेको हो । विप्लवले १४ वैशाखमा निकालेको विज्ञप्तिमा नेता वलीमाथि आर्थिक हिनामिनाको आरोप लगाएका थिए । त्यसको प्रतिवाद गर्दै बास्तोलाले विप्लव नै पैसामा फसेको आरोप लगाएका छन् ।
विप्लवले तत्कालिन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सम्झौता गर्दै शान्तीपूर्ण राजनीतिमा आएको बताएका थिए । तत्कालीन एकीकृत नेकपा माओवादी ‘संसदीय भासमा फसेको’ आरोप लगाउँदै २०६९ मंसिरमा मोहन वैद्य ‘किरण’को नेतृत्वमा नेकपा–माओवादी गठन भएको थियो । यसबेला विप्लव मुख्य भूमिकामा थिए । उनी वैद्यसँग पनि फुटेर ८ मंसिर २०७१ मा उनले आफ्नै नेतृत्वमा नेकपा (माओवादी) गठन गरेका थिए । उनले २०७३ फागुनमा आठौं महाधिवेशनबाट पार्टीको नाम फेरेर ‘नेपाल कम्युनिष्ट पार्टी’ राखे र आफूलाई महासचिव बनाएका थिए ।