कांग्रेस नेत्री तथा देउवा पत्नी राणाविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणाविरूद्ध निर्वाचन आयोगमा उजुरी परेको नेपाली संचारमाध्यमले जनाएका छन् । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी नेता आरजुविरुद्ध हरिशप्रसाद अवस्थी नामका मतदाताले उजुरी दिएका छन् । बिहीबार आरजुले कांग्रेसले नजितेका स्थानीय तहमा पैसा नपठाउने भन्दै अभिव्यक्ति दिएकी थिइन् । यो मतदाता र करदाताको गम्भीर अपमान भएको भन्दै अवस्थीले उजुरी दिएका छन् ।

आरजुले गृहजिल्ला डडेल्धुरामा बिहीबार आयोजित चुनावी कार्यक्रममा मेयर नजित्ने नगरपालिकामा बजेट नपठाइने धम्की दिएकी हुन् । डडेल्धुरामा नेपाली कांग्रेस र नेपाली कांग्रेस (बिपी) का उम्मेदवारबीच प्रतिस्पर्धा छ । कांग्रेस बिपीको चुनाव चिह्न करूवा छ। कांग्रेसबाट विद्रोह गरेका कर्ण मल्ल पक्षले डडेल्धुरामा विभिन्न स्थानीय तहमा उम्मेदवारी दिएको छ। मल्ललाई कांग्रेसले कारबाही गरेको थियो। मल्ल पक्षले कांग्रेस बिपीको चिह्न लिएर एमालेसँग चुनावी तालमेल गरेका छन्।