तालिबानको उर्दी, महिलाले बुर्का नलगाए परिवारको पुरुषलाई कारवाही

Photo : telegraph.co.uk

काबुल । तालिबान अधिकारीहरूले सार्वजनिक स्थानमा अनुहार पूरै ढाक्ने गरी बुर्का लगाउन अफगान महिलाहरूलाई उर्दी जारी गरेका छन् । अघिल्लो वर्ष सत्ता कब्जा गरेयता उनीहरूले लगाएको कठोर नियन्त्रणका रूपमा यसलाई हेरिएको छ। बीबीसीका अनुसार आफ्नो पहिलो शासनकालमा यस्तै व्यवस्था लागु गरेका उनीहरूले अघिल्लो वर्ष सत्ता हातमा लिएपछि बुर्का अनिवार्य गर्नेबारे कुनै आदेश दिएका थिएनन्। नैतिक आचरणमाथि नियमन गर्ने तालिबान मन्त्रालयले यो प्रतिबन्धलाई सुझाव भनेको छ।

तर यसको कार्यान्वयन नगर्ने महिलाका श्रीमान् वा पुरुष अभिभावकहरूलाई छोटो जेल सजाय सहितका कारबाही गर्ने चेतावनी दिइएको छ। तालिबानहरूले सत्ता हातमा लिएपछि कतिपय महिलाहरूले बुर्कासँग अफगान संस्कृतिको सम्बन्ध नभएको भन्दै प्रदर्शन गरेका थिए। तालिबानको पछिल्लो कदमलाई महिलाहरूको स्वतन्त्रतालाई थप कुण्ठित गर्ने उनीहरूको प्रयासका रूपमा हेरिएको छ।

मन्त्रालयले महिलाहरूलाई पुरुषबिना एक्लै लामो दूरीको यात्रा गर्न रोक लगाएको छ एवम् महिला र पुरुषलाई एकै समयमा पार्कमा जान रोक लगाएको छ। केरमानीका अनुसार कुनै महिलाले बुर्का नलगाएको अवस्थामा पहिलो चरणमा बुर्का नलगाउने महिलाको घर पहिचान गरी उनको परिवारका पुरुष सदस्यहरूलाई सुझाव दिइने छ। फेरि पनि उक्त निर्णय पालना नगरिएको खण्डमा पुरुष अभिभावकलाई मन्त्रालयमा बोलाउनेदेखि अदालतसम्म लगेर कारबाही गर्नेसम्म भनिएको छ।