देशभर साढे दुई लाख सुरक्षाकर्मी निर्वाचनमा खटिए, सेनाले हवाई र स्थलगस्ती गर्ने

काठमाडौं । स्थानीय तह निर्वाचनलाई लक्षित गरि देशभर साढे २ लाख सुरक्षाकर्मी खटिएका छन् । निर्वाचनलाई भयरहित र निष्पक्ष बनाउन सुरक्षा प्रवन्धनको तयारी पुरा भएको बताइएको छ । गृह मन्त्रालयका अनुसार निर्वाचन सुरक्षामा दुई लाख ६० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना–२०७८ अनुरूप निर्वाचन सुरक्षा व्यवस्थापनका लागि आवश्यक सुरक्षा तयारी तथा परिचालन कार्य सम्पन्न भएको मन्त्रालयको भनाई छ ।

निर्वाचनमा तीन लाख हाराहारी कर्मचारी खटिएका छन् । मुलुकभर ७५३ स्थानीय तहमा १० हजार ७५६ मतदान स्थल र २१ हजार ९५५ मतदान केन्द्र तोकिएका छन् । तीमध्ये दुई हजार ९४६ अति संवेदनशील र चार हजार ४२३ संवेदनशील सूचीमा छन् । सुरक्षाको पहिलो घेरामा म्यादीसहित नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रोमा नेपाली सेना खटाइएको छ । अति संवेदनशील मतदान स्थलमा छ म्यादी पाँच प्रहरी गरी ११, संवेदनशीलमा पाँच म्यादी चार प्रहरी गरी नौ र अन्यमा चार म्यादी तीन प्रहरी गरी सात सुरक्षाकर्मी परिचालन गरिएको छ ।

थप मद्दतका लागि हतियारसहित नौदेखि ११ जना सशस्त्र प्रहरीको टोली खटिने भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी निर्वाचन सुरक्षामा परिचालन भएसँगै यसअघि यी सुरक्षा निकायले सम्हाल्दै आएको महत्वपूर्ण स्थान, संरचना तथा सम्पदाको सुरक्षामा सेना खटाइएको छ । निर्वाचन सुरक्षाका लागि सेनाको सुर्खेतस्थित पश्चिम कमान्ड, मध्य कमाण्ड पोखरा, उपत्यका कमान्ड र पूर्वी कमान्ड इटहरीमा हेलिकप्टरसहितको विशेष टोली तयारी अवस्थामा राखिएको छ । सेनाले हवाई तथा पैदल गस्ती गर्ने भएको छ ।