निर्वाचन आयोगको आह्वान : लोभ र प्रलोभनमा नपरी भोट हालौं

File

काठमाडौं । निर्वाचन आयोगले लोभ, लालच र प्रलोभनमा नपरी मताधिकार प्रयोग गर्न आम मतदातामा आह्वान गरेको छ । बिहीबार बसेको आयोगको आकस्मिक पत्रकार सम्मेलनमा प्रमुख आयुक्त दिनेशकुमार थपलियाले लोभ, लालच र प्रलोभनमा नपरी मताधिकारको प्रयोग गर्न आम मतदाताहरूलाई आग्रह गरे । उनका अनुसार वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको सबै तयारी पुरा भएको छ ।

प्रमुख आयुक्त थपलियाले निर्वाचनका लागि शान्ति सुरक्षाको सबै प्रबन्ध मिलाई सकिएको र मतपेटिकाको सुरक्षा र सकिएपछि सबै मतपेटिका लैजाने काममा पनि सुरक्षित तवरबाट गरिने व्यवस्था मिलाएको जानकारी समेत दिए । प्रमुख आयुक्त थपलियाले पद, पैसा र पहुँचबाट प्रभावित नभई निष्ठा, विचार र सिद्धान्तबाट निर्देशित भई कसैको लोभ, लालच, प्रलोभन, आश्वासन वा अन्य कुनै प्रभावमा नपरी आफ्नो विवेकको सही तरिकाले प्रयोग गर्न मतदातासँग आह्वान गरेका हुन् ।

निर्वाचनको सबै तयारी पूरा भइसकेको भन्दै शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति हुनेगरी सुरक्षा व्यवस्था मिलाइएको उनले जानकारी गराए । आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले नागरिकताको प्रमाणपत्र, मतदाता परिचयपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र, राहदानी अथवा जग्गाधनी प्रमाणपूर्जाको सक्कली प्रमाणपत्रमध्ये कुनै एकको माध्यमबाट भोट हाल्न पाउने व्यवस्था गरिएको समेत उनले जानकारी दिए ।