देशका विभिन्न स्थानमा भएका हिंसात्मक घटनामा सुरक्षा कमजोरी

काठमाडौं । देशका विभिन्न स्थानमा भएका हिंसात्मक घटनामा सुरक्षा कमजोरी मूख्य कारण रहेको निर्वाचन आयोगले बताएको छ । स्थानीय तह निर्वाचनमा राजनीतिक दलका कार्यकर्ता अराजक भएका कारण यस्तो परिस्थिति आएको आयोगको भनाई छ । देशभरका ७५३ पालिकाका २२ हजार बढी मतदान केन्द्रमा शुक्रबार एकसाथ मतदान भएको थियो । तर राजनीतिक दलका कार्यकर्ताबीच भएको झपडका कारण कम्तीमा २५ मतदान केन्द्रमा मतदान स्थगित भएको छ । २०७४ को स्थानीय तह निर्वाचनमा पनि २०–२५ स्थानमा विवाद भएको थियो । त्यसबेला पुलिङ सेन्टर बाहिर झडपका घटनाहरु भएका थिए ।

यो पटक कतिपय स्थानमा मतपत्र च्यातिएको छ भने कतिपय ठाउँमा मतपेटिका तोडफोड भएको छ । सुरक्षा कमजोरीका कारण राजनीतिक दलका कार्यकर्ता अराजक भएको निर्वाचन आयोगको निष्कर्ष छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आम रुपमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको बताए । कतिपय ठाउँमा उम्मेदवारहरुको विवाद, सामान्य विषयमा पनि विवाद झाँगिंदै जाँदा मतदान स्थलहरुमा झडप तथा तनाव भएको उनको भनाई छ ।