काठमाडौं । सरकारले स्थानीय तह निर्वाचनमा खटिएका सुरक्षाकर्मी र कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गरेको छ । वैशाख ३० गते देशभर एकै चरणमा स्थानीय तह निर्वाचन भएको थियो । निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीहरुको सहयोग अतुलनीय भएको भन्दै सरकारले धन्यवाद दिएको हो ।
बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय सुरक्षा समितिको बैठकमा सरकारको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँणले निर्वाचनमा खटिएका सम्पूर्ण सुरक्षाकर्मी र कर्मचारीहरुलाई धन्यवाद दिएको गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलले जानकारी गराएका छन् ।
बैठकमा गृहमन्त्री खाँणले निर्वाचनको महत्वलाई बुझेर जनतालाई सहज ढंगले मतदान केन्द्रमा सुरक्षा दिनु चुनौतीपूर्ण रहेको बताए । निर्वाचनको दिन मतपत्र र मतपेटिकाको सुरक्षा दिने विषय झनै चुनौतीपूर्ण रहेकाले यसमा सहजता दिन सहयोग पुर्याउने सबै निकाय र पक्षहरुलाई धन्यवाद दिनु भएको पोखरेलले बताए । बैठकमा गृहमन्त्री खाँणले निर्वाचनका क्रममा घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरे भने मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली दिए ।