रुस-युक्रेन युद्ध : विश्वव्यापी खाद्यान्न संकट निम्तन सक्ने राष्ट्रसंघको चेतावनी

काठमाडौं (बीबीसी) । युक्रेनमाथि रुसले गरेको अतिक्रमणका कारण आउँदा महिनाहरूमा विश्वव्यापी खाद्यान्न अभाव निम्तिन सक्ने संयुक्त राष्ट्रसङ्घले चेतावनी दिएको छ। राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले बढ्दो महँगीले अति विपन्न देशहरूमा खाद्य सुरक्षाको स्थितिलाई झन् दयनीय बनाइदिएको बताएका छन्। न्यूयोर्कमा एउटा राष्ट्रसङ्घीय शिखर बैठकलाई सम्बोधन गर्दै उनले युद्ध अघिको अवस्थामा युक्रेनी निर्यातलाई पुर्‍याउन नसकिए विश्वले वर्षौँसम्म भोकमरीको सामना गर्नुपर्ने हुन सक्ने पनि बताए।

युद्धका कारण युक्रेनी बन्दरगाहहरूबाट विश्वमा ठूलो मात्रामा गहुँ, मकै र सूर्यमुखीको तेल लगायतका वस्तुको निर्यात रोकिन पुगेको छ। रुसले अतिक्रमण गर्नु अगाडि युक्रेनले विश्वलाई १२ प्रतिशत गहुँ, १५ प्रतिशत मकै र आफ्नो उत्पादनको आधाभन्दा बढी सूर्यमुखी तेल निर्यात गर्ने गर्थ्यो। युक्रेनबाट निर्यात रोकिँदा एकातर्फ विश्वव्यापी आपूर्तिमा कमी आएको छ भने अर्कोतर्फ वस्तुहरूको भाउ आकासिएको छ।


राष्ट्रसङ्घका अनुसार गत वर्षको सोही अवधिको तुलनामा यो वर्ष खानेकुराको मूल्यमा करिब ३० प्रतिशतले वृद्धि भएको छ। बैठकमा महासचिव गुटेरसले भनेः ‘हामी एक भएर अहिले नै कदम चाल्न सक्यौँ भने हामीसँग पर्याप्त खाद्यान्न छ। तर आज हामीले यो समस्यालाई हल गर्न सकेनौँ भने आउँदा महिनाहरूमा हामीले विश्वव्यापी खाद्यान्न सङ्कट झेल्नुपर्ने हुन्छ।’

युक्रेनको अन्न उत्पादनलाई पूर्ववत् अवस्थामा नफर्काएसम्म र रुस तथा बेलारुसले उत्पादन गर्ने रासायनिक मल विश्व बजारमा नपुर्‍याएसम्म समस्याको हल नहुने पनि उनले बताए। खाद्यान्न आपूर्तिलाई सामान्य अवस्थामा फर्काउने प्रयासमा आफूले रुस, युक्रेनका साथै संयुक्त राज्य अमेरिका र युरोपेली सङ्घसँग संवाद सघन बनाएको गुटेरसले बताएका छन्। विश्व ब्याङ्कसहितका अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले खाद्यान्न आपूर्तिलाई सहज बनाउने उद्देश्यका साथ १० अर्ब डलर उपलब्ध गराउने घोषणा गरेका छन्।