अमेरिकी उपमन्त्री जिया नेपालमा

काठमाडौं । नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपमन्त्री तथा तिब्बती मुद्दाका लागि अमेरिकी विदेश संयोजक उज्रा जिया नेपाल अवतरण गरेकी छिन् । उनी भारतको नयाँदिल्ली हुँदै काठमाडौं अवतरण गरेकी हुन् । उनी तीन दिने भ्रमणका लागि शुक्रबार करिब ३ बजे दिउँसो एयर इन्डियाबाट काठमाडौं आइ पुगेकी  हुन् ।

उनलाई विमानस्थलमा परराष्ट्र मन्त्रालयका अधिकारीहरु र अमेरिकी राजदूतावासका अधिकारीहरुले स्वागत गरेका छन्  । उपमन्त्री जियाको नेपाल आगमन अमेरिकी अधिकारीहरूको एक दशकपछिको उच्चस्तरीय भ्रमण हो । नेपालले एमसीसी सम्झौता अनुमोदनसँगै नेपाल–अमेरिका कूटनीतिक सम्बन्धको ७५ औं वर्षगाँठ मनाइरहँदा उनको नेपाल भ्रमण भएको हो ।

जियाले नेपाल भ्रमणको दौरानमा प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्र मन्त्री नारायण खड्कासहित अन्य उच्च अधिकारीहरुलाई भेट्ने कार्यक्रम रहेको छ । उपमन्त्री जियाले गृह मन्त्री बालकृष्ण खाँण र मुख्य–सचिव शंकरदास वैरागीसँग पनि भेटवार्ता गर्ने छिन् ।