काठमाडौं । रिभर फल्स पावरको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक प्रभु क्यापिटलले आज अपराह्न ४ बजे आइपीओ बाँडफाँट गरेको हो ।
क्यापिटलका अनुसार गोलाप्रथाबाट २ लाख ५३ हजार ८९० जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् भने १५ लाख ५१ हजार ५५० जनाको हात रित्तो भएको छ ।
कम्पनीले वैशाख २८ गते प्रतिकित्ता १०० रुपैयाँ दरले २७ करोड ३० लाख रुपैयाँ बराबरको २७ लाख ३० हजार कित्ता आइपीओ विक्रीमा ल्याएको थियो ।
सोमध्ये ५४ हजार ६०० कित्ता कम्पनीका कर्मचारी, १ लाख ३६ हजार ५०० कित्ता सामूहिक लगानी कोष र २५ लाख ३८ हजार ९०० कित्ता सर्वसाधरणका लागि छुट्याइएको थियो ।
कम्पनीको आइपीओमा १८ लाख ५९ हजार २४२ जनाले आवेदन दिएका थिए । सोमध्ये ४९ हजार ९८३ आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । रीपूर्वक आवेदन दिएका १८ लाख ५ हजार ४४० जनालाई गोलाप्रथामा समावेश गरिएको थियो ।
कहाँबाट हेर्ने रिजल्ट ?
कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।
यसैगरी, विक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट र रिभर फल्स पावर कम्पनीको वेबसाइटबाट पनि नतिजा हेर्न सकिनेछ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।