ड्यालस
२५६६ औ बुद्ध जयन्तिको उपलक्ष्य ड्यालसस्थित नेपाली मन्दिरमा दुइ दिने बिशेष कार्यक्रम सम्पन्न भएको छ। नेप्लिज बुद्धिस्ट ऐशोसिएसन, टेक्सास तथा नेपाली कल्चरल एण्ड स्पिरिचुअल सेन्टरले संयुक्त रुपमा मनाएको उक्त कार्यक्रममा प्रमुख अतिथि श्रदेय भन्ते शान्तिदेवले पहिलो दिन बुद्ध पुजा, धम्मचक्क पबत्तन सुत्त वाचन तथा निर्देशित ध्यान र दोश्रो दिन परित्रान पाठ र धर्मदेशना देशना दिनु भएको थियो।


पहिलो दिन नेप्लिज बुद्धिस्ट ऐशोसिएसन, टेक्सासको साप्ताहिक बुद्ध बन्दना कार्यक्रमको क्रममा भन्ते शान्तिदेव ज्युले बुद्ध जयन्तिको शुभ अवसरमा धम्मचक्क पबत्तन सुत्तको वाचन तथा ब्याख्या गर्नु भएको थियो। त्यसै दिन साँझ ‘२ घण्टा निर्देशित ध्यान शिविर’ कार्यक्रम अन्तर्गत उपस्थित सबैलाई ध्यानको महत्व वर्णन गर्दै चरणबद्ध रूपमा ध्यान गर्ने तरिका सिकाउनु भएको थियो।


त्यस्तै दोश्रो दिन बुद्ध जयन्तिको बिशेष कार्यक्रम अन्तर्गत भएको सभामा प्रमुख अतिथि श्रदेय भन्तेले परम्परागत रुपमा भगवान बुद्धको अनुष्ठान गर्दै कारनिय मेत्ता सुत्त पाठ, परित्रान सुत्र पाठ र ‘चतु आर्य सत्य’ बिषयमा धर्मदेशना देशना दिनु भएको थियो। उक्त कार्यक्रममा ऐशोसिएसनका अध्यक्ष स्वोयम्भु शाक्यले स्वागत भाषाणको क्रममा ऐशोसिएसनको गतिविधिको बारेमा छोटो परिचय दिनु भएको थियो। त्यस्तै यूलेसमा बन्दै गरेको नयाँ पशुपतिनाथ तथा बुद्ध बिहारको परिचय दिंदै ऐशोसिएसनका सदस्य तथा नेपाली कल्चरल एण्ड स्पिरिचुअल सेन्टरका सदस्य मकर बज्राचार्यले उक्त नया मन्दिरको प्रमुख अंग स्वोयम्भु स्तुपामा स्थापनको लागि गजुर, पंच बुद्ध, बज्र तथा १०८ माने दान दिन वचन दिनु हुने सम्पूर्ण दानीहरुको नाम उल्लेख गर्दै अन्य दाताहरुलाई दानको लागि प्रोत्साहन गर्नु भयो ।


ऐशोसिएसनका सचिब डा नीरज बज्राचार्यले संचालन गर्नु भएको उक्त कार्यक्रममा ऐशोसिएसनका उपाध्यक्ष तथा नेपाली कल्चरल एण्ड स्पिरिचुअल सेन्टरका कोषाध्यक्ष शैलेन्द्र मानन्धरले धन्यवाद ज्ञापन गर्दै सोही दिन बिहान ग्रहण गर्नु भएको अष्ट शीलको बारेमा जानकारी दिनु भएको थियो। उक्त दिन अष्ट शील ग्रहण गर्नेमा अध्यक्ष स्वोयम्भु शाक्य, उपाध्यक्ष शैलेन्द्र मानन्धर, सचिब डा नीरज बज्राचार्यका साथै ऐशोसिएसनका सदस्यहरु अमर बज्राचार्य र जुनु बज्राचार्य पनि हुनु हुन्थ्यो।