काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य भारी वृद्धि गरेसँगै वायुसेवा कम्पनीहरुले समेत हवाई भाडा बढाएका छन् । वायुसेवा सञ्चालक संघका अनुसार बढेको भाडा बुधबारबाट लागु हुने छ । संघका अनुसार काठमाडौंबाट सबैभन्दा लामो दुरीमा रहेको रुट काठमाडौं–धनगढी पुग्न अधिकतम १५ हजार ६६५ रुपैयाँ लाग्ने भएको छ । यो रुटमा एकै पटक ४४५ रुपैयाँ भाडा बढेको हो । यसअघि इन्धनको मूल्य ६ हजार ८९० रुपैयाँ रहेको यो रुटमा अब इन्धनको मूल्य मात्र ७ हजार ३३५ रुपैयाँ पुगेको हो ।
निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ वृद्धि गरी १६६ रुपैयाँ पुर्याएको छ । अब काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा ३४० रुपैयाँ मूल्य बढेको छ । माउन्टेन फ्लाइटको मूल्य १३ हजार ७६५ रुपैयाँ पुगेको छ । काठमाडौं–भद्रपुर ३ सय, काठमाडौं– विराटनगर २४०, काठमाडौं–जनकपुर १३०, काठमाडौं–भरतपुर ११०, काठमाडौं–पोखरा १६०, काठमाडौं–भैरहवा २०५, काठमाडौं–नेपालगञ्ज ३२५, काठमाडौं–तुम्लिङटार १८५ र काठमाडौं–सिमरा रुटमा ९० रुपैयाँ भाडा बढेको छ ।