काठमाडौं । भैरहवामा हालै संचालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न शुल्कमा शतप्रतिशत छुट दिएको छ । प्राधिकरणका अनुसार यस विमानस्थलमा अवतरण शुल्क, विश्राम शुल्क, सञ्चार तथा उड्डयन शुल्क र सुरक्षा जाँच शुल्कमा शतप्रतिशत छुट हुने भएको हो । छुटको योजना १४ जेठबाट एक वर्षसम्म लागु हुने छ ।
यसरी हुने शूल्क छूटका कारण अहिले यहाँ उडान गरिरहेको जजिरा एयरवेजले प्रति उडान १ लाख रुपैयाँसम्मको छूट पाउँछ । जजिरा एयरवेजको जहाजको तौल ७६ हजार किलो छ । विमानस्थलमा जहाजको तौलका आधारमा विश्राम, अवतरण तथा सुरक्षा जाँच शूल्क लिइन्छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले जजिराले मात्र साताको तीन उडान गर्ने गरी अनुमति लिएको छ ।