बाजुराका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा प्रमुखलाई हटाएर बुढिगंगामा पुनः निर्वाचन हुने

काठमाडौं । निर्वाचनको स्वच्छतामा आँच आउने काम भएको भन्दै निर्वाचन अयोगले बाजुराका प्रमुख जिल्ला अधिकारी , नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्ला प्रमुखलाई तीन दिनभित्र हटाइ अरू कर्मचारी पठाएर बुढिगंगा नगरपालिकामा पुनः निर्वाचन गर्न सरकारलाई निर्देशन दिएको छ । यससँगै बाजुराको बूढीगङ्गा नगरपालिकामा पुनः मतदान हुने भएको छ । वैशाख ३० गते भएको पालिका चुनाव निष्पक्ष नभएको ठहर गर्दै निर्वाचन आयोगले यस्तो निर्णय गरेको हो ।

बिहीवार विज्ञप्ति निकालेर आयोगले वैशाख ३० गते भएको चुनाव रद्द गर्दै फेरि मतदान गर्ने निर्णय गरेको जानकारी दिएको छ । त्यहाँ खटिएका अधिकारीहरुलाई निर्वाचन कसुरअनुसार विभागीय कारबाही गरी आयोगलाई जानकारी दिन समेत सरकारलाई निर्देशन दिएको पनि निर्वाचन आयोगको विज्ञप्तिमा उल्लेख छ । बुढीगङ्गा नगरपालिकामा दश वटा वडामध्ये ६ वटा वडामा विवाद छ ।