काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको नीति तथा कार्यक्रममाथि केपी शर्मा ओलीले कुण्ठा मात्र पोखेको बताएका छन् । शनिबार प्रतिनिधिसभा बैठकमा महामन्त्री थापाले केपी ओली रन्थनिएको बताए । यस्तो बेलामा जसरी बोले पनि त्यसको जवाफ दिइरहन नपर्ने उनको भनाई छ । ‘नीति तथा कार्यक्रममाथिको छलफलमा प्रारम्भमै घण्टौंको गन्थन प्रस्तुत भैसकेपछि केही साथीहरूले भन्नुभयो, गन्थनमा व्यक्त भएको प्रत्येक कुराको उत्तर दिनुपर्छ । मैले साथीहरूलाई भनें, प्रश्नको उत्तर हुन्छ । विचारमा टिप्पणी हुन्छ । प्रतिक्रियामा सहमति, असहमति व्यक्त हुन सक्छ । तर, कुण्ठामा त्यस्तो केही पनि हुँदैन,’ उनले भने ।
उनले थपे, ‘कुण्ठामा केवल सहानुभूति हुन्छ । त्यसैले यो बेलामा साथीहरूले भन्नुभयो घण्टौं बसेर बोल्ने ? भैले भनें, यतिखेर रन्थनिएको बेलामा बसेर, उठेर, सुतेर जसरी बोल्न दिए पनि हुन्छ । पलेटी कसेर बोले पनि हुन्छ । एक खुट्टामा टेकेर बोले पनि हुन्छ । अहिले हामीले सुनिदिनुपर्छ,’ थापाले भने ।
रन्थनिएकाहरुलाई कुण्ठा पोख्न दिनुपर्छ : गगन थापा
