तारा एयर जहाज दुर्घटनाका मृतकमध्ये १० जनाको शव काठमाडौं ल्याइयो

काठमाडौं । मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा आइतबार भएको तारा एयरको जहाज दुर्घटनामा परी मृत्यु भएकामध्ये १० जनाको शव काठमाडौँ ल्याइएको छ। २२ जना सवार जहाज आइतबार बिहान दुर्घटनामा परेको थियो । सोमबार बिहान दुर्घटनास्थल पत्ता लागेको हो । त्यसपछि सुरु भएको सर्च अपरेशनका दौरान २१ जनाको शव भेटिएको थियो । त्यसमध्ये पहिलो चरणमा १० जनाको शव सोमबार साँझ काठमाडौँमा ल्याइएको छ । एक जनाको शव अझै भेटिएको छैन ।

केन्द्रका अनुसार १० जनाको शव बोकेर नेपाली सेनाको एमआई १७ नामक हेलिकप्टर काठमाडौं आइपुगेको हो । ती शव शिक्षण अस्पताल लगिएको छ । शवको सनाखत भइसकेको छैन । भेटिएका २१ शवमध्ये ११ वटा शव घटनास्थलमै छन् । पोखराबाट आइतबार बिहान ९ ः ५५ मा जोमसोमका लागि उडेको तारा एयरको ९ एनएइटी कलसाइन भएको उक्त विमान बिहान १०ः०७ मा जोमसोम विमानस्थलबाट सम्पर्क विच्छेद बनेको थियो । जहाजमा चालक दलका तीन सदस्यसहित १२ जना नेपाली, चारजना भारतीय र दुईजना जर्मनी नागरिक गरी २२ जना चढेका थिए ।