अंग्रेजी नयाँ वर्षबाट पोखरा विमानस्थल संचालनमा आउला ?

Photo : Nepali Times

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको संचालन आगामी नयाँ वर्ष २०२३ बाट गर्ने तयारी छ । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा यस्तो जानकारी गराएका हुन् । उनले घोषणा गरेकै मितिमा नियमित उडान गर्न सजिलो भने छैन । खासगरी भौतिक संरचना निर्माणको काम समयमै सकिए पनि यहाँ अन्य व्यवस्थापकीय काम यथावत नै छन् ।

जसले विमानस्थलको कामलाई पर धकेल्नेछ । विमानस्थलका अनुसार जहाज अवतरण गर्ने रुटमा पर्ने एक डाँडो सम्याउनु पर्ने छ । साथै, ल्याण्डफिल साइट व्यवस्थापनको काम समेत गर्नुपर्नेछ । यी काम नयाँ आर्थिक वर्षको शुरुवात नै गरिने उनको भनाई छ । यो विमानस्थल सन् २०१४ मा ठेक्का सम्झौता भएको थियो । सन् २०२१ मै सकिनु पर्ने आयोजना कोभिडपछि पर धकेलिएको हो ।