निजामती अस्पतालले मोडुलर आइसीयू संचालनमा ल्याउने

काठमाडौं । बानेश्वरस्थित निजामती अस्पतालले १६ बेडको मोडुलर आईसीयू संचालनमा ल्याउने भएको छ । अस्पतालका कार्यकारी निर्देशक डा. विधानिधि पौडेलका अनुसार १६ बेडको मोडुलर आईसीयू सञ्चालन गर्न लागेको हो । मंगलबार निर्देशक पौडेलले आफ्नो एक वर्षको कार्यविवरण प्रस्तुत गर्दै १६ बेडको मोडुलर आइसियु सञ्चालन गर्न लागेको जानकारी गराए । आगामी छ महिनामा निमार्ण सम्पन गरी सञ्चालनमा ल्याउने उनले जानकारी गराए । आईसीयू निमार्ण भएपछि अस्पतालले १० देखि १५ हजारमै त्यो सेवा उपलब्धहुने उनको भनाई छ ।

अस्पताललाई एकेडेमीतर्फ लैजाने प्रयास स्वरुप क्रिटिकल नर्सिङको अध्यापन गराउने तयारी अन्तिम चरणमा पुगेको पनि उनले जानकारी दिए । अस्पतालको सेवा सुविधा ७ वटै प्रदेशबाट दिने सन्दर्भमा केही प्रगति हासिल भएको पनि उनको दावि छ । अस्पतालले चारबेडको आईसीयू विस्तार गरेर १२ बेडको बनाएसँगै दैनिक १० देखि १५ जना बिरामी आइसीयू नपाएर रिफर हुनुपर्ने समस्याको अन्त्य भएको डा. पौडेलेले जानकारी दिए ।

चीन सरकारले बनाएको १ सय १५ बेडको सर्जिकल भवन हस्तान्तरण हुने अन्तिम तयारीमा रहेको उनको भनाइ छ । अस्पताले जेठ १ गतेबाट होलबडी जाँच गर्नेहरुका लागि लक्षित गरेर बिहान सात बजेदेखि बेलुका पाँच बजेसम्म सेवा दिन थालेपछि दैनिक १८० जनाले सेवा लिन थालेका छन् । अस्पताललाई चार वर्षमा चार सय बेडमा संचालन गर्ने लक्ष्य रहेको डा पौडेलले जानकारी दिए ।