काठमाडौं । नेपालका होटलहरु अब सिंगल युज प्लास्टिक मुक्त बन्ने भएका छन् । होटल संघ नेपाल (हान)ले बुधबार काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल तथा नेपालका लागि बेलायती राजदूतको उपस्थितिमा यस्तो अभियान प्रारम्भ गरेको हो । अब होटलले प्लास्टिकबाट बनेका एक पटक प्रयोग गरेर फाल्नुपर्ने ब्रस, काइयो, प्लास्टिक चप्पल, प्याकिङ प्लास्टिकसहित होटलका कोठामा प्रयोग हुने प्लास्टिकजन्य सामाग्रीको प्रयोग विस्थापित गर्ने भएका छन् । हानका अनुसार यो अभियान ठूला होटलबाट प्रारम्भ भएको छ र क्रमश सबै होटलमा कार्यान्वयन हुनेछ ।
हानकी अध्यक्ष सिर्जना राणाले संसारभरका होटलमा प्लास्टिक मुक्त कोठाको माग बढिरहेकाले नेपालमा पनि यो प्रयास थालेको बताइन् । हानका प्रथम महासचिव विनायक शाहले आगामी दुई वर्ष भित्र भने नेपालका सबै होटलबाट एक पटकको प्रयोगपछि नै फ्याँक्नु पर्ने प्लास्टिकजन्य प्रदार्थको प्रयोग बन्द गर्ने बताए । जलवायु परिवर्तनप्रति सचेतता अपनाउँदै यो अभियान प्रारम्भ गरिएको शाहले जानकारी दिए । ‘यो कुनै व्यापारिक अभियान होइन, कुनै विदेशी दाता हाम्रो साथमा हुनुहुन्न’, उनले भने, ‘हामी नेपाल सरकारको प्लास्टिकमुक्त अभियानमा सहभागी भएका हौं ।’