काठमाडौं । सेयर बजारमा लगातार गिरावट आएको छ । सोमबारदेखि निरन्तर ओरालो लागेको नेप्सेले लगातार चौथो दिन पनि सोही लय कायम राखेको हो । यस साताको ४ दिनमा मात्रै नेप्से १११ अंकले घटेको छ ।
सूचकमा गिरावट आए पनि आज कारोबार रकममा भने झिनो सुधार आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ९ करोड बढेको छ ।
बिहीबार नेप्से १८.२६ अंकले घटेर २११२.४७ विन्दुमा आइपुगेको छ । यसदिन २२७ कम्पनीको १ अर्ब १६ करोड १५ लाख १४ हजार १६९ रुपैयाँ बराबरको ३५ लाख ६६ हजार ८१९ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा समूहमध्ये सामूहिक लगानी कोष बाहेक अरु सबै समूहको परिसूचक घटेको छ । व्यापार समूह सबैभन्दा धेरै २.६ प्रतिशतले घटेको छ । त्यस्तै, निर्जीवन बीमा, जीवन बीमा र अन्य समूह पनि १ प्रतिशतभन्दा धेरैले घटेको छ ।
आज माउन्टेन हाइड्रोको सर्वाधिक कारोबार भएको छ । यसको १२ करोड रुपैयाँ बढीकोे सेयर किनबेच भएको छ । त्यसैगरी, एनआइसी एशिया बैंक साढे ६ करोड र नबिल बैंक ३ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
दोहोरो अंकले घटेको बजारमा आज प्रभु लाइफ इन्स्योरेन्सको सेयर मूल्य सबैभन्दा धेरै ६.४७ प्रतिशतले घटेको छ । त्यसैगरी, उन्नति सहकार्य लघुवित्त ४.८७, कर्पोरेट डेभलपमेन्ट बैंक ४.२३, प्रिमियर इन्स्योरेन्स ४.१८, हिमालयन ऊर्जा ४.०६, सिटिजन्स म्युचुअल फण्ड १, सिद्धार्थ इन्स्योरेन्स, सिद्धार्थ इक्वीटी फण्ड, मैलुङ खोला, शिखर इन्स्योरेन्स, साल्ट ट्रेडिङ र सानिमा लार्ज क्यापको सेयर मूल्य ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।
घट्दो बजारमा आज बलेफी हाइड्रोपावरको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।