काठमाडौं । नेपालमा मे २०२२ मा ५३ हजार ६०८ जना पर्यटक आएका छन् । यसमध्ये अमेरिकाबाट मात्र ७ हजार २७४ जना रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ । नेपालमा भारतपछि यो वर्ष अमेरिकाबाट पर्यटक आएका छन् । सन् २०२२ को पहिलो ५ महिनामा १ लाख ९० हजार ७३९ जना पर्यटक नेपाल आएका छन् । अध्यागमन विभागको तथ्यांक अनुसार एक महिनामा भारतबाट मात्र २६ हजार ६६२ जना पर्यटक नेपाल आएका छन् । यो हवाई मार्ग प्रयोग गरेर आउने भारतीयको मात्र संख्या हो ।
दोस्रो स्थानमा अमेरिकी नागरिकको संख्या धेरै छ । मे महिनामा अमेरिकाबाट मात्र ७ हजार २७४ जना पर्यटक नेपाल आएका छन् । तेस्रो स्थानमा बंगलादेश रहेको छ । यस मुलुकबाट ३ हजार २६८ जना नागरिक मे महिनामा नेपाल आएका छन् । बेलायतबाट २ हजार ४५१ जना पर्यटक नेपाल आएका छन् ।अध्यागमन विभागको तथ्यांक अनुसार एक महिनामा नेपाल आएका ५३ हजार ६०८ जना नागरिकहरु संसारभरका १६९ वटा मुलुकका नागरिक हुन् ।
यो सूचीमा युद्धरत मुलुक युक्रेनबाट ७१ र रसियाबाट ४८८ जना नागरिक नेपालको भ्रमणमा आएको देखिएको छ । एक महिनाको अवधिमा नेपालबाट ६१ हजार ३५० जना विदेशी नागरिकले देश छाडेका छन् । विभागका अनुसार मे महिनामा विभिन्न मुलुकमा रहेका ७४ हजार ६९ जना नेपाली नागरिक स्वदेश फर्किएका छन् । यसै अवधिमा १ लाख १३ हजार ७१६ जना नेपालीले भने स्वदेश छाडेर विदेश उडेको अध्यागमन विभागले जनाएको छ