काठमाडौं । स्थानीय तहमार्फत कोरियामा मौसम पठाउन थालिएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले त्यसो नगर्न स्थानीय तहलाई सचेत गराएको छ । दक्षिण कोरियामा ६ महिने मौसमी कामदार पठाउने कार्यमा संलग्न नहुन पालिकाहरूलाई मन्त्रालयले परिपत्र गरेको हो । दक्षिण कोरियाका स्थानीय तहसँग भगिनी सम्बन्ध कायम गरी पालिकाहरूले गैरकानुनी ढंगले आफूखुसी मौसमी कामदार पठाउन थालेपछि संघीय मन्त्रालयको यस्तो निर्णय सार्वजनिक भएको हो ।
कोरियाली र नेपाली एजेन्टको सक्रियतामा भगिनी सम्बन्ध जोडेर केही पालिकाले मौसमी कामदार पठाउन थालेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले छोटो समयावधिका लागि वैदेशिक रोजगारीमा पठाउन श्रम स्वीकृति समेत नदिएका कारण त्यसरी कामदार पठाउनु गैरकानूनी मानिन्छ । झन्डै ३० वटा स्थानीय तहले कोरियामा मौसमी कामदार पठाउने प्रक्रियामा रहेको बताइएकोछ । केही पालिकाले एजेन्टसँग मिलेमतो गरेर श्रम स्वीकृतिबिना कामदार पठाइसकेका छन् । कोरिया जाने कामदारले हवाई टिकट, भिसा र बिमाबापत लागेको रकम भुक्तानी गर्नुपरेको बताइएको छ ।