टर्कीले किन नाम राख्यो टर्कीय ?

reuters

इस्तानबुल । सन् १९२३ मा विभिन्न मुलुकको उपनिवेशबाट स्वतन्त्र भएको टर्कीले नाम परिवर्तन गरी टर्कीये राखेको छ । अंकाराको आग्रहसँगै संयुक्त राष्ट्र संघले टर्कीको नाम टर्कीये राख्न सहमति दिएको हो । संयुक्त राष्ट्रसंघका प्रवक्ता स्टेफा दुजारिचले बुधबार टर्किस विदेशमन्त्री मेभलुत चाभुसोलुले पठाएको पत्र प्राप्त भएको जानकारी दिएका छन् । पत्रमा अबदेखि सबै गतिविधिमा टर्कीको सट्टा टर्किये प्रयोगमा ल्याउन आग्रह गरिएको थियो । प्रवक्ता दुजारिचका अनुसार पत्र प्राप्त भएसँगै नाम परिवर्तन भइसकेको छ ।

विदेशमन्त्री चाभुसोलुले भनेका छन्, ‘संयुक्त राष्ट्र संघ र अन्य अन्तर्राष्ट्रिय संगठन र मुलुकहरूका लागि पनि टर्कीये प्रयोगमा ल्याउन हामी सफल भएका छौँ।’ गत डिसेम्बरमै राष्ट्रपति रेचेप तय्यप एर्दोआनले सबै भाषामा टर्किये सम्बोधन गरिने बताएका थिए । राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चमा टर्कियेलाई अम्ब्रेला ब्रान्डका रूपमा स्विकारिएको छ, ’उनले भनेका थिए, ‘टर्किस नागरिकको संस्कृति, सभ्यता र मान्यतालाई सही प्रतिनिधित्व टर्किये ले नै गर्नेछ। राष्ट्रपति एर्दोआनले विभिन्न कम्पनीलाई निर्यात गरिने वस्तुमा पनि मेड इन टर्किये लेख्न सल्लाह दिएका थिए ।

टर्कीले क्रिसमस, नयाँ वर्ष र थ्यांक्सगिभिङसँग जोडिएको चरा बुझिने भएकाले पनि देशको नाम परिवर्तन गरिएको बताइएको छ । त्यस्तै क्याम्ब्रिज इंग्लिस डिक्सनरीमा पनि टर्कीुलाई असफल वा मूर्ख व्यक्ति रूपमा परिभाषित गरिएको छ । आफ्नो मुलुकको नाम परिवर्तन गर्ने टर्की पहिलो मुलुक होइन। सन् २०२० मा हल्यान्डबाट नेदरल्यान्ड्स गरिएको थियो । ग्रीससँगको राजनीतिक विवादका कारण युगोस्लाभ गणतन्त्र म्यासेडोनियाबाट नाम परिवर्तन गरी नर्थ म्यासेडोनिया बनाइएको थियो । त्यस्तै सन् २०१८ मा राजा स्वाती तेस्रोले स्वाजिल्यान्डको नाम परिवर्तन गरी इस्वातिनी बनाएका थिए । त्यस्तै सन् २०१६ मा चेक गणतन्त्रले आफ्नो आधिकारिक नाम चेकिया बनाएको थियो ।