उपत्यकामा उठेन फोहोर, झरीका कारण दुर्गन्ध बढ्दै

काठमाडौं । काठमाडौँ उपत्यकामा फोहोर उठ्न नसक्दा प्रदुषण बढेको छ । निरन्तर भइरहेको वर्षात र फोहोर थुप्रिएपछि उपत्यकामा घर र सडक दुबैमा समस्या निम्तिएको हो । दुई साता अगाडी प्रहरी लगाएर फोहोर व्यवस्थापनको काम सुरु भएको थियो । तर, महानगरपालिामा नयाँ जनप्रतिनिधि निर्वाचत भएपछि मेयर बालेन साह नुवाकोटको बन्चरे डाँडा पुगी समस्या समाधानको आश्वासन दिएका थिए । त्यसपछि पनि देखिने गरी ठोस पहल नहुँदा फोहोर उठेको छैन ।

बन्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न स्थानीयवासीले अवरोध गरिरहेका छन् । यसअघि फोहोर विसर्जन सिसडोलमा हुँदै आएको थियो । तर, सिडोल भने फोहोरले भरिएपछि बन्चरे डाँडामा लैजान थालिएको हो । महानगरले फोहोरलाई कुहिने र नकुहिने छुट्याएर कुहिने फोहोरलाई मल बनाउन थाल्ने र नकुहिनेमध्ये पनि पुनःप्रयोगमा नआउने फोहारलाई मात्र व्यवस्थापन गर्ने बताउँदै आएको छ ।