काठमाडौं । नेपाली सेनाले विभिन्न चार हिमालबाट ३३ टन भन्दा बढी फोहोर संकलन गरेको छ। आइतबार नेपाली सेनाको मुख्यालय जंगी अड्डामा आयोजित सफा हिमाल अभियान २०२२को समापन कार्यक्रममा चार वटा अग्ला हिमालबाट ३३ टन बढी फोहोर संकलन गरेको जनाएको हो। नेपाली सेना र शेर्पाहरूको संयुक्त टोलीले सगरमाथा, ल्होत्से, कञ्चनजंगा र मनास्लुबाट ३३ हजार ८७७ किलो फोहोर संकलन गरेको हो।
सफा हिमाल कार्यक्रमको उद्घाटन गत चैत २२ गते भएको थियो। सो कार्यक्रम आइतबार विश्व वातावरण दिवसको उपलक्ष्यमा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले समापन गरेका थिए। हिमाल सफा गर्न सेनाका ३० जना र ४८ जना शेर्पाको टोली खटिएको थियो। त्यस्तै चार जना चिकित्सकहरू समेत खटिएका थिए। सगरमाथा लगायत हिमालबाट कुहिने र नकुहिने दुई थरी फोहोरको संकलन गरिएको थियो। जसबाट कुहिने ७ हजार २२७ किलो र नकुहिने २६ हजार ६५० किलो फोहोर निकालेको हो।
कुहिने र नकुहिने फोहोरको व्यवस्थापन छुट्टाछुट्टै गरिएको थियो। अझै केही फोहोरको व्यवस्थापन गर्ने काम भइरहेको नेपाली सेनाले जनाएको छ। नेपाली सेनाले सगरमाथा(ल्होत्से सफा गर्न ५५ दिन लगाएको थियो। यस्तै कञ्चनजंगा सफा गर्न ४४ दिन र मनास्लु सफा गर्न ४३ दिन लागेको थियो। नेपाली सेनाको टोलीले यस वर्ष दुई वटा मानव कंकाल समेत फेला पारेको छ। कञ्चनजंगा हिमाल सफा गर्न गएको टोलीले सो कंकाल फेला पारेको हो।
दुइवटैको कानुनी प्रक्रिया अघि बढाएर व्यवस्थापन गरिएको सेनाले जनाएको छ। सफा हिमाल अभियानको यो तेस्रो चरण हो। सन् २०१९ देखि सुरू भएको यो अभियान २०२०मा कोरोना भाइरसको महामारीका कारण रोकिएको थियो। त्यसयता यो अभियान हरेक वर्ष हुँदै आएको छ। सेनाको टोलीले सन् २०१९ मा १० टन र २०२१मा २७ टन फोहोर संकलन गरेको थियो।