इस्टोनियामाथि मेसी एक्लैले गरे ५ गोल

Getty Images

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेसी अहिले उच्च लयमा छन् । नजिकिएको विश्वकप र उनको लयका कारण समर्थक भने उत्साहित छन् । आफ्नो उत्कृष्ट लय कायम राख्दै आइतबार उनले मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा इस्टोनियाविरुद्ध एक्लैले ५ गोल गरेका छन् । यो खेलमा अर्जेन्टिना ५–० ले विजयी भयो । आठौं मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरेका उनले ४५, ४७, ७१ र ७६ औं मिनेटमा गोल गर्न सफल भए ।

अर्जेन्टिनाले युरोपेली च्याम्पियन इटालीलाई ३–० ले हराउँदा २ गोलका लागि सहयोग गरेका थिए । उनी दुबै खेलमा प्लेयर अफ दी म्याच चुनिए । आइतबारकै अन्य मैत्रीपूर्ण खेलमा कोलम्बियाले साउदी अरेबियालाई र पेरुले न्युजिल्यान्डलाई समान १–० ले हरायो । नेसन्स लिगका खेलमा भने पोर्चुगलले स्विट्जरल्यान्डलाई ४–० ले हरायो । क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । स्पेन र चेक गणतन्त्र २–२ को बराबरी खेलेका छन् ।