काठमाडौं । नेपालको छिमेकी राज्य उत्तराखण्डस्थित उत्तरकाशीमा तीर्थयात्री बोकेको बस दुर्घटनामा कम्तिमा २६ जनाको मृत्यु भएको छ । मध्य प्रदेशको पन्ना जिल्लाका २८ तीर्थयात्री र चालक–क्लिनरसहित ३० जना सवार यूके ०४-१५४१ नम्बरको बस आइतबार साँझ दुर्घटनामा परेको स्थानीय संचारमाध्यमले जनाएका छन् । उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले दुर्घटनामा २६ जनाको मृत्यु भएको पुष्टी गरेका छन्। चारधाम यात्रामा सहभागी भएका उनीहरू सवार बस ४०० फिट गहिरो खाडलमा खसेको थियो।
दुर्घटना लगत्तै मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहान आइतबार रातिनै देहरादून पुगेका थिए। उनले घटनाका बारेमा जानकारी लिनुका साथै उद्धार कार्यबारे छलफल गरेका थिए। पुरालाका एसएचओ अशोक कुमारका अनुसार हरिद्वारबाट आउँदै गरेको बस गहिरो खाडल र अन्धकारमा फसेकाले उद्धारमा केही समस्या आएको बताएका थिए।
उत्तराखण्डको दुर्घटनापछि एम्बुलेन्ससँगै मेडिकल टोली पनि घटनास्थलमा पुगेको थियो। घाइतेहरुलाई थप उपचारका लागि देहरादून पठाइएको छ। उत्तराखण्डमा भएको दुर्घटनापछि प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्दै मृतकका परिवारलाई २ लाख र घाइतेलाई ५० हजार भारतीय रूपैयाँ सहयोग गर्ने बताएका छन्।