काठमाडौं । सत्ता गठबन्धनबीच तत्काल मन्त्री नफेर्ने सहमति भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान बसेको शीर्ष नेताहरुको बैठकमा तत्काल मन्त्रीहरु नफेर्ने सहमति भएको हो।
नेकपा एकीकृत समाजवादीले सरकारमा रहेका चार मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो । सो निर्णयपछि मन्त्रिपरिषद् पुनर्गठन हुने चर्चाबीच गठबन्धनका शीर्ष नेताहरुले केही समय पर्खने निष्कर्षमा पुगेका हुन् ।
आइतबार बसेको नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले आफ्ना मन्त्रीहरु रामकुमारी झाँक्री, विरोध खतिवडा, प्रेम आले र कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाइ मेटमणि चौधरी, भवानी खापुङ ,जीवनराम श्रेष्ठ र शेरबहादुर कुँवरलाई नयाँ मन्त्रीमा सिफारिस गरेको थियो।
पार्टीको निर्णयविरुद्ध आफ्ना मन्त्रीहरुले प्रचण्ड र प्रधानमन्त्री देउवासँग यथावत रहन दिएको दबाबप्रति अध्यक्ष माधवकुमार नेपाल असन्तुष्ट बनेका छन्।
मन्त्री परिवर्तनको विषयलाई लिएर एकीकृत समाजवादीमा विवाद बढेको छ । आफूहरूलाई फिर्ता बोलाउने निर्णयप्रति बहालवाला मन्त्रीहरूले चर्को असन्तुष्टि जनाएका छन् ।
मन्त्री बन्न ठिक्क परेकाहरूले जसरी पनि पुराना मन्त्री फिर्ता बोलाउनुपर्ने अडान राखेका छन् । यो विवादबारे पार्टीको बैठक बोलाएर छलफल गर्ने अध्यक्ष माधव नेपालले तयारी गरेका छन् ।