काठमाडौं । काठमाडौंमा पछिल्लो तीन महिनायता नियमित उठ्न नसकेको फोहोर आजबाट उठाइने भएको छ । काठमाडौंको फोहोर अब बञ्चरेडाँडा डम्पिङ साइटमा जाने छ । सहरी विकास मन्त्रालयमा सोमबार अबेर भएको सहमतीपछि फोहोर उठ्ने भएको हो । वार्तामा स्थानीयका माग सम्बोधन गर्ने गरी फोहोरमैला व्यवस्थापन गर्न सहमति जुटेको थियो । सिसडोल र बञ्चरेडाँडाका जनप्रतिनिधिहरूको सहभागितामा भएको वार्ताले स्थानीयका माग सम्बोधन गर्न समय तालिकासहित प्रतिबद्धतापत्र जारी गरिएको छ ।
अब हरेक दिन बञ्चरे डम्पिङ साइटमा फोहोर खसालेपछि १५ सेन्टिमिटर उचाइको माटोले पुरिने भएको छ । दुर्गन्ध हटाउन नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको सिफारिसका आधारमा १० दिनभित्र रासायनिक वा जैविक उपचारको विधि पनि लागू गरिनेछ। साउन १ देखि भने कुहिने र नकुहिने फोहोर स्रोतमै छुट्टयाएर नकुहिने खालका फोहोर मात्र डम्पिङ साइटमा लैजाने सहमति समेत जुटेको छ । काठमाडौं महानगरपालिकाले अब हरेक घरमा कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै राख्न सूचना जारी गर्दैछ ।