काठमाडौं । संघीय सरकार, स्थानीय सरकार र सरोकारवाला स्थानीयबीच सहमति जुटेपछि पनि स्थानीयले फोहोर फाल्न अवरोध गरेपछि मंगलबार बन्चरे डाँडामा प्रहरी परिचालन गरेर फोहोर फालिएको छ । काठमाडौंबाट फोहोर बोकेर गएका सवारीलाई स्थानीयले अवरोध गरेका थिए । उनीहरुलाई हटाउन प्रहरीले बल प्रयोग गरेको छ । मंगलबार १५७ वटा गाडीमा लगेको फोहोर फालिएको हो । सोमबार शहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकासँग वञ्चरेडाँडाबासीका तर्फबाट नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीवेशी नगरपालिकाका जनप्रतिनिधिले सहमति गरेका थिए ।
सो सहमतिपछि मंगलबार १५७ वटा गाडी फोहोर फाल्न वञ्चरेडाँडातर्फ जाँदा स्थानीय वासिन्दाले वञ्चरेडाँडा आसपासको क्षेत्रमा अवरोध गरेका थिए । उनीहरुले जनप्रतिनिधिले गरेको सहमतिप्रति आपत्ति जनाउँदै फोहोर फाल्न नदिने अडान लिएका थिए । केही जनप्रतिनिधिहरुलाई लोभ र त्रास देखाएर हस्ताक्षर गराएको र संघर्ष समितिलाई बेवास्ता गरेको भन्दै स्थानीयले आपत्ति जनाएका हुन् । तर प्रहरी परिचालन गरेर प्रदर्शनमा उत्रिएकालाई लाठीचार्ज र नियन्त्रणमा लिएर ट्रकहरु ल्याण्डफिल साइटमा पुर्याइएको थियो । मंगलबार प्रहरी पचिारलन गरिएपनि बुधबार के हुन्छ भन्ने अन्यौल जारी छ ।