सुपेन्द्र बस्नेत, बोष्टन
तन अमेरिकामा भएपनि मन भित्र भने ‘मेरो देश, मेरो गौरव’ भन्ने आत्मीय भावना सुरक्षित राखेका गैर आवासीय नेपालीहरुले, नेपालीपन झल्काउदै नेपाल उत्सव मनाउने भव्य तयारी थालेका छन्। ‘नेपालको साँस्कृतिक विविधतामा एकता’ भन्ने मुल नाराका साथ यही आउदो जुन २५ तारिख शनिबारका दिन अमेरिकाको म्याचेच्युसेट्स राज्यको समरभिल सिटीमा’ नेपाल उत्सव-७९’ (Nepal festival-2022) मनाउन आवश्यक तयारी थालिएको हो।
ग्रेटर बोस्टन नेपाली समाज, समरभिल कला परिषद र आप्रवासी मामिलाको कार्यालयको संयुक्त आयोजनामा हुन गइरहेको उक्त कार्यक्रम, समरभिलस्थित युनियन स्क्वायरमा दिउसो ३:३० बजेदेखि प्रारम्भ हुने आयोजकले जनाएको छ। बोस्टनबासी नेपाली भाषीहरुलाई संगठित गर्नु, नेपाली कला, भाषा, धर्म, संस्कृति, रितिरिवाज, पहिरन, खानपिन आदिको संरक्षण, सम्बर्धन तथा प्रवर्धन गर्नुका साथै, समग्र नेपाल र नेपालीलाई विश्व सामु चिरपरिचित गराउन सक्दो योगदान पुर्याउनु नै कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोजक संस्था ग्रेटर बोस्टन नेपाली समाजका अध्यक्ष मिलन कुमार कार्कीले बताउनु भयो।कार्कीले भन्नु भयो,’विश्व सामु नेपाल र नेपाली समुदायको पहिचान झल्काउने गरी कार्यक्रमको आवश्यक तयारी गरिएको छ। कार्यक्रम मनोरञ्जनात्मक, प्रभाकारी र फलदायी हुने छ।’
सन् २०१७ देखि मनाउन सुरु गरिएको महोत्सव, विश्वव्यापि कोरोना कहरका कारण बृहत् रुपमा आयोजना गर्न सकिएको थिएन। कोरोना कहरपछि आयोजना गरिएको यस बृहत् खुल्ला महोत्सवमा आप्रवासी नेपालीहरुको उत्साहजनक उल्लेखनीय सहभागिता रहने आयोजकले विश्वास लिएको छ। कार्यक्रमलाई मनोरञ्जनात्मक, प्रभाकारी र फलदायी बनाउन नेपाली भाषी समुदायको सक्रिय सहभागिताका लागि आयोजकले चुले निम्तोसहित कार्यक्रम सफल बनाउन आवश्यक साथ सहयोगका लागि अनुरोध समेत गरेको छ।’यो कार्यक्रम नेपाली भाषी समुदायकै उथ्थानका लागि केन्द्रिकृत भएकाले, कार्यक्रमलाई सफल बनाउन यथासक्य सहयोगका लागि म्याचेच्युसेट्सबासी सबै नेपाली भाषीहरुलाई अनुरोध छ। साथै, कार्यक्रममा उल्लेखनीय सक्रिय सहभागिताका लागि चुल्है निम्तो छ।’ अध्यक्ष कार्कीले भन्नु भयो ,’ सकेसम्म नेपाली पहिचान झल्काउने पहिरन लगाएर कार्यक्रममा उपस्थित भइदिनहुन पनि हामी सबैलाई अनुरोध गर्दछौं।’
कार्यक्रममा नेपाली पहिचान झल्काउने मनोरञ्जनात्मक विविध साँस्कृतिक कार्यक्रम, नेपाली स्वाद दिलाउने विभिन्न खानाका परिकारहरु र नेपाल र नेपाली संझाउने स्टलहरुको व्यवस्था गर्ने गरी आवश्यक तयारी थालिएको आयोजकले जनाएको छ।
करिब १५ देखि २० हजारसम्म नेपाली भाषीहरुको बसोबास रहेको अनुमान गरिएको अमेरिकाको यस म्याचेच्युसेट्स राज्यमा, नेपाली भाषीहरुका विभिन्न संघ संस्थाहरु लामो समयदेखि संगठित भएर सामाजिक क्रियाकलापहरु क्रियाशिल रहदै आइरहेका छन्।र, उनीहरुले नेपाल र नेपाली भाषीहरुको पहिचान तथा उथ्थानका लागि बेला बखतमा आवश्यक यथासक्य विविध क्रयाकलापहरु गर्दै आइरहेका छन्। यद्यपि, कार्यक्रमहरुमा लक्षित समुदायहरुको सक्रिय सहभागिता भने सन्तोषजन हुन सकिरहेको देखिदैन।